जनार्जन खत्री
सर्लाही, पुस २९ गते । सर्लाहीमा एक भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएर राख्ने तीनजना पक्राउ परेका छन् ।
सीमापारि भारतबाट अपरहणमा परेका १५ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरी अपहरणमा संलग्न तीनजनालाई हतियारसहित नियन्त्रणमा लिएको हो । हतियारसहित पक्राउ पर्नेमा सर्लाहीको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँका १९ वर्षीय बिक्रम पासवान र भारत बिहार राज्य जिल्ला सितामढी राजवाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् ।
प्रहरीका अनुसार उनीहरु तीनजना मिलेर आइतबार दिउँसो १५ वर्षका भारतीय बालकलाई अपहरण गरी ६८ वर्षीय रामजी साहले घरमा ल्याएर राखेका थिए । बालकलाई अपहरण गरी नेपालतर्फ ल्याएको भनी भारतीय प्रहरीबाट खबर पाएपछि परिचालित भएको सर्लाही प्रहरीको टोलीले तीनैजनालाई हतियारसहित पक्राउ गर्न सफल भएको हो ।
अपहरणकारीको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान चक्कु र एक थान हथौडा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस्तै, प्रहरीले बालकलाई भारतदेखि अपहरण गरेर ल्याउन प्रयोग गरिएको बीआर ०६ बी टी २८५० नम्वरको भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनालाई सर्लाही जिल्ला अदालतबाट अपहरण तथा शरीरबन्धक र हातहतियार खरखजना मुद्दामा सात दिनको म्याद अनुमति लिई अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । डीएसपी श्रेष्ठका अनुसार अपहरणमा परेका भारतीय बालकलाई उनीहरुको परिवार बोलाएर सकुशल जिम्मा लगाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६८ वर्षीय रामजी साह बालक अपहरण घटनाका मुख्य योजनाकार हुन् । प्रहरीले पिछा गर्दै गरेको थाहा पाएपछि मोटरसाइकल चढेर फरार हुन खोजेका तीनैजनालाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याइएको श्रेष्ठले बताउनु भएको छ ।