सुजन काफ्ले
चरीकोट, पुस २९ गते । दोलखामा आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत दोलखा महोत्सव २०८१ हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा १२ दिने बृहत दोलखा महोत्सव हुने भएको हो ।
महोत्सव दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा हुन लागेको उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ । महोत्सवको तयारीबारे सङ्घले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।
महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवर्धन गरिने उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
महोत्सवका स्टलमा दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, नीजि क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघ संस्था, उद्योगी व्यवसायीका उत्पादन लगायत प्रदर्शनीमा राखिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा दोलखाका पर्यटकीयस्थलको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने उहाँको भनाइ छ । महोत्सवमा कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु र विद्यालयस्तरीय प्रतियोगिताहरु पनि सञ्चालन गरिनेछ ।
दोलखाका विभिन्न जातजाति, भाषाभाषीका कला संस्कृति समेटिएको प्रस्तुति, झाँकी प्रदर्शन गरिने उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रूपमा उभ्याउन आर्थिक विकासमा फड्को मार्ने खुड्किलो बन्ने अपेक्षा आयोजकले गरेको छ।