• ७ असार २०८२, शनिबार

अधुरो विकासको पीडा

सडक कालोपत्रे, खोलामा छैन पुल

blog

शालिग्राम नेपाल 

चितवन, असार ७ गते  । पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने चितवनको शक्तिखोर फिसलिङमा पुल नबन्दा बर्खाभरि कठिनाइका साथ यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

चेपाङ जातिको बाहुल्य रहेको जिल्लाको पहाडी भागलाई जोड्न निर्माण गरिएको सडकको रिग्दीखोलामा पुल नबन्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक कालोपत्रे भएको चार वर्ष बितिसके पनि पुल नबन्दा बर्खाभरि सवारीसाधन आउजाउ गर्न कठिनाइ हुने गरेको छ । इच्छाकामना गाउँपालिकाको वडा नं. २ काउले, हात्तीवाङलगायतका गाउँका बासिन्दा बर्खाभरि गाउँमै रोकिने गरेको वडा नंं. २ का वडाध्यक्ष पन्चराम चेपाङले बताउनुभयो ।  

पालिका कार्यालय जानलाई समेत समस्या पर्ने गरेको उहाँले बताउनुभयो । विद्यालय जान, आउन विद्यार्थी–शिक्षकलाई समेत समस्या हुने गरेको अध्यक्ष चेपाङले बताउनुभयो । पुल निर्माणका लागि धेरै पहल गरे पनि बजेट अभावमा काम नभएको जानकारी पाएको उहाँले बताउनुभयो ।  

चार वर्षमा सम्पन्न गर्ने गरी २०७८ माघ १६ गते निर्माण गर्ने गरी सम्झौता भएको पुलको दुई वटा पिल्लर मात्र निर्माण भएका छन् । सम्झौता अनुसार २०८२ जेठ ३० गते सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने उल्लेख गरिएको थियो तर सङ्घीय ससर्तमार्फत आउने बजेटबाट निर्माण थालिएको पुलको काम रकम अभावकै कारण हुन सकेको छैन ।   

पूर्वाधार विकास कार्यालय भरतपुरका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार चौधरीले सङ्घीय सरकारले बजेट समयमा नदिएका कारण काम हुन नसकेको जानकारी दिनुभयो । तीन करोड ८८ लाख ११ हजार ६९५ रुपियाँको लागतमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । 

गत वर्ष एकातर्फको पिल्लर निर्माण भएको थियो । अहिले अर्को भागको पिल्लर निर्माण सम्पन्न भएको छ । बजेट निकासा गर्ने सुनिश्चित भएपछि मात्र ठेकेदारले काम गर्ने तयारी गरेको कार्यालय प्रमुख चौधरीले भन्नुभयो । काम गरेर पैसा नपाउने अवस्था भएका कारण ठेकेदारले पनि काम गर्न सकेको छैन । समयमा काम सम्पन्न नभएपछि म्याद थपको प्रव्रिmया अगाडि बढाइएको छ । अहिलेसम्म ठेकेदारले काम गरेबापत एक करोड ४४ लाख ९९ हजार ४२५ रुपियाँ भुक्तानी लिइसकेको छ ।