• १ माघ २०८१, मङ्गलबार

पिएसबीको प्रि–लन्चिङ मंगलबार

‘राष्ट्रिय एकता कायम गर्न केन्द्रित हुन्छ पिएसबी’

blog

काठमाडौं, पुस २९ गते । रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण नेपालमा रुपान्तरण भए पश्चात् विभिन्न दस सत्रमा गहन छलफलसहित पिएसबी पूर्वारम्भ (प्रि–लन्चिङ) कार्यक्रमको आयोजना हुँदैछ । 

पिएसबीका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टका अनुसार माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने उक्त कार्यशालामा पिएसबी सम्बन्धित विषयवस्तु, यसको नीतिगत पक्ष र भावी कार्ययोजनाको सन्दर्भमा विषयगत रुपमा गहन छलफल हुनेछ । 

कार्यकारी अध्यक्ष डा. विष्टले भन्नुभयो, “प्यानल डिस्कसन हुन्छ । त्यो प्यानलमा चाहिँ हामीले लोकतन्त्रको सबलीकरण, पिएसबीका अन्तर्राष्ट्रिय  अभ्यासहरु, राष्ट्र निर्माण, शिक्षा र स्वास्थ्य  सेवा, विपद्को सूचना प्रवाह र शिक्षामा साझेदारी, प्राथमिकताका विषयवस्तुहरु के हुन सक्छन्, त्यो सम्बन्धमा सामाजिक रुपान्तरण, राष्ट्रिय एकतासम्बन्धी पिएसबीको सञ्चालनमा अन्तर्राष्ट्रिय अभ्यासहरु, प्राविधिक रुपान्तरण, डिजिटल लगायतका विषयमा छलफल हुनेछ ।” 

यस कार्यक्रमले पिएसबी सञ्चालनमा नीतिगत स्पष्टता र व्यवहारमा यसको कार्यान्वयन सागसँगै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन  नीति निर्माणमा सहयोग पुर्‍याउँछ  भन्ने विश्वास गरेको छु ।

उहाँले यस छलफलले पिएसबीमा सहज रुपान्तरण र सही सही सञ्चालनका साथै संस्थाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न महत्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना, प्रविधिमन्त्रीको प्रमुख आतिथ्यतामा नेपाल टेलिभिजनको परिसरमा मङ्गलबार यस कार्यक्रमको समुद्घाटन समारोह आयोजना हुनेछ । उहाँले भन्नुभयो, “यस कार्यक्रमले पिएसबी सञ्चालनमा नीतिगत स्पष्टता र व्यवहारमा यसको कार्यान्वयन सागसँगै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन  नीति निर्माणमा सहयोग पुर्‍याउँछ  भन्ने विश्वास गरेको छु ।”

उहाँले पिएसबीको मुख्य उद्देश्यका सन्दर्भमा व्यापारिक स्वार्थ र सरकारी हस्तक्षेपबाट मुक्त भएर नागरिक केन्द्रीत हुनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सेवा प्रसारणको मुख्य उद्देश्य भनेको व्यापारीक स्वार्थ र सरकारी हस्तक्षेपबाट मुक्त भएर नागरिक केन्द्रित हुनु हो । राष्ट्रिय एकतालाई जोड्न, समृद्ध हासिल गर्न, विपदमा सूचना प्रवाह तथा जनताको भरोसाको केन्द्र हुने र सम्पूर्ण समुदायले अपनत्व महसुस गर्नेगरी यसले प्रसारणको व्यवस्था मिलाउँछ ।”

उहाँले पछिल्लो रेडियो नेपाल र नेपाल टेलिभिजनका विषयवस्तुमा रुपान्तरणको सुरुवात समेत भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी देशको सबै जातजाति, भाषा, धर्म, संस्कृति समभावका  साथ हेर्छौं । यसो गर्दा उहाँहरुका विषयवस्तु, सरोकारका कुराहरु प्राथमिकता दिन्छौं । त्यो क्रम रेडियो नेपाल र नेपाल टेलिभिजनका विषयवस्तुहरुमा पछिल्लो समयमा रुपान्तरण गर्न थालिसकेका छौं ।” विषयवस्तु घटना प्रधानबाट विषय प्रधानतर्फ रुपान्तरण भएको उहाँको भनाइ छ ।

उहाँले नयाँ र पुरानो पुस्तालाई जोड्नेगरी पिएसबीले आफ्ना विषयवस्तु केन्द्रीत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो पुस्ताले जुन प्रविधिलाई आत्मसात् गरेको छ,  जुन सरोकार सरोकारहरु व्यक्त गरिरहेको छ, ती विषयहरुमा पनि हाम्रो उत्तिकै सरोकार रहन्छ । युवा, किशोरकिशोरी केन्द्रीत कार्यक्रम पनि हामी लिएर आउँछौं । नयाँ र पुरानो पुस्तालाई जोड्ने गरी, मुलुकको समृद्धि हासिल गर्नेगरी, राष्ट्रिय एकताको भावका साथ अगाडि बढ्ने गरी पिएसबीले आफ्ना सम्पूर्ण विषयवस्तुलाई केन्द्रीकृत गर्छौं ।” 

हामी देशको सबै जातजाति, भाषा, धर्म, संस्कृति समभावका  साथ हेर्छौं । यसो गर्दा उहाँहरुका विषयवस्तु, सरोकारका कुराहरु प्राथमिकता दिन्छौं ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गत असोज २२ गते कात्तिकदेखि लागू हुनेगरी सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण भयो । गत मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा प्रसारण नेपालको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्टलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

पिएसबीका कार्यकारी अध्यक्षले पुस १ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । त्यसको महिना दिनको अवधिमा भोलि मङ्गलबारदेखि सुरु हुने पिएसबी पूर्वारम्भ (प्रि–लन्चिङ) कार्यक्रम माघ ३ गते रेडियो नेपालको प्राङ्गणमा समापन हुनेछ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।