• १२ पुस २०८१, शुक्रबार

कृषि क्षेत्र सरकारको प्राथमिकतामा

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर २८ गते । सङ्घीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सङ्घीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । मन्त्री अधिकारीले नागरिकको आयआर्जन र रोजगारीको क्षेत्रसमेत कृषि भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । मकवानपुरको बकैया गाउँपालिकाले आफ्नै लगानीमा स्थापना गरी सञ्चालनमा ल्याएको औद्योगिक ग्रामको बिहीबार अवलोकनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सो अवसरमा मन्त्री अधिकारीलाई बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बकैयामा कृषि क्षेत्रको सम्भावना र औद्योगिक ग्राममा पालिकाको लगानीबारे जानकारी गराउनुभएको थियो । पालिकाका अध्यक्ष लामिछानेले बकैयाबाट काठमाडौँ उपत्यका नजिक रहेकाले उत्पादित कृषिजन्य उत्पादन पु-याउन सहज हुने भएकाले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 

अवलोकनका क्रममा मन्त्री अधिकारीले गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीसँगै उद्योग सञ्चालनमा ल्याएर कृषकलाई लक्ष्य गरी उत्कृष्ट कार्य गरेकोमा प्रशंसा गर्नुभएको थियो । मन्त्री अधिकारीले पालिकाले कृषि क्षेत्रमा गरेको लगानी सार्थक बनाउन पालिकासँग समन्वय र सहकार्य गर्ने बताउँदै औद्योगिक ग्रामको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले औद्योगिक ग्राम अवलोकन गर्दै पालिकाले आफ्नै लगानीमा औद्योगिक ग्राम स्थापनालगायत नागरिकलाई उत्पादनसँग जोड्ने कार्य उदाहरणीय भएकाले अन्य स्थानीय तहले यस्तै कार्य अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । 

बकैया गाउँपालिका–७ मा सात बिघा क्षेत्रफलमा पाँच करोड रुपियाँ लगानीमा गाईभैँसीको आहार उत्पादन उद्योग सञ्चालनमा ल्याइएको हो । उक्त उद्योगबाट गत साउनदेखि गाईभैँसीका लागि गुणस्तरीय दाना उत्पादन हुँदै आएको छ । उद्योगबाट हालसम्म ५० टन दाना उत्पादन भएको भन्दै उक्त उद्योगबाट उत्पादित दाना पालिकाभित्रका कृषक र दुग्ध उत्पादक सहकारीलाई बिक्री गर्ने गरिएको पालिकाले जनाएको छ । उद्योगबाट हालसम्म ६५ टन साइलेज उत्पादन गरिएको छ । सो अवसरमा मन्त्री अधिकारीलाई गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतले औद्योगिक ग्राम स्थापना र कृषिको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

सङ्घीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मकवानपुरको बकैया गाउँपालिकास्थित औद्योगिक ग्राम अवलोकन गर्नुहुँदै ।