• १२ पुस २०८१, शुक्रबार

बर्सौंदेखि गाउँ धानेको ढुङ्गाखानी

blog

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर २८ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, गोइरीमा रहेको ढुङ्गाखानीको सिलेट, ढुङ्गा, मार्बल, टायल र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ । केही वर्षअघि भने घरको छाना छाउन र भान्सामा सिलौटाका रूपमा प्रयोग हुन्थ्यो । 

बर्सौं पुरानो यो खानी पाँच वर्षयता गोइरीवासीको आम्दानीको मुख्य स्रोत बनेको छ । यही खानीमा यहाँका करिब एक सय कामदारले रोजगारी पाएका छन् । कसैले ढुङ्गा निकाल्ने, कसैले विभिन्न आकारमा कुँद्ने र कोही ढुवानीका लागि काम गर्छन् । 

यही ढुङ्गाखानीमा काम गर्नुहुन्छ गोइरीगाउँका ७२ वर्षीय धनसिंह बुढा । घरनजिकैको खानीमा बिहानै पुगेर ढुङ्गा निकाल्ने, कुद्ने काम गर्न थालेको ५८ वर्ष भयो । बुढाले परिवारको लालनपालन, उच्च शिक्षा, सम्पूर्ण घरखर्च यसैबाट जुटाएको बताउनुभयो । उहाँ खानीको सबैभन्दा पाका कामदार हुनुहुन्छ । बाजेका पालादेखि सञ्चालनमा आएको ढुङ्गाखानी गाउँलेको रोजीरोटीको मुख्य स्रोत भएको र अहिले ठुलो बजार लिएको उहाँले बताउनुभयो । बुढा भन्नुहुन्छ, “अन्यत्रका ढुङ्गाखानी लोप भइरहेका बेला यो खानीले रोजगारी दिइरहेको छ ।” खानीनजिकै गाडी लिएर आउने ग्राहकको सङ्ख्या बढिरहेकाले कामदारको जीविका चलाउन सहज भइरहेको उहाँको भनाइ छ । 

स्थानीय ६३ वर्षीय खिमे घर्ती पनि यही खानीमा काम गर्नुहुन्छ । खानीकै कमाइले दुई छोरा, एक छोरीको उच्च शिक्षा पूरा गरेको, बजारमा घर बनाएको र घरखर्च चलाएको घर्तीले बताउनुभयो । १५ वर्षकै हुँदा ढुङ्गाखानीमा काम सुरु गरेका घर्तीले कालापहाड जानु नपरेको र जग्गासमेत जोड्न सकेको उल्लेख गर्नुभयो । 

बुढा र घर्तीको जस्तै सिङ्गो गोइरीवासीको जीविकोपार्जनको स्रोत ढुङ्गाखानी हो । खानीले गोइरीगाउँ र आसपासका एक सयभन्दा बढी घरपरिवारको दैनिकी धानेको छ । यहाँ करिब ७५ जना मिस्त्री र २५ बढी कामदारले काम गरिरहेका छन् । करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस ढुङ्गाखानीमा अहिले १५ वटा जति खानी रहेका छन् । कतिपय खानी पुरिन थालेका छन् । ढुङ्गाखानी सञ्चालक मिसरकुमार मल्लले हरेक वर्षको मङ्सिरदेखि जेठसम्म ढुङ्गाखानीमा काम हुने गरेको बताउनुभयो । अन्य महिना वर्षायामको कारण काम हुँदैन । उहाँका अनुसार बिक्रीका लागि तयार भएका ढुङ्गाको आकार हेरेर मूल्य निर्धारण हुने गरेको छ । हाल ५० देखि ७० रुपियाँ प्रतिगोटाको दरले ढुङ्गा बिक्री हुन्छन् । 

यही मूल्यबाट जग्गाधनी, खानीमा काम गर्ने श्रमिक, लोड/अनलोड खर्च र स्थानीय सरकारलाई कर तिर्नु पर्छ । एक जना कामदारले दैनिक एक हजारदेखि तीन हजारसम्म आम्दानी गर्ने गरेका छन् । यो पनि समग्र ढुङ्गाको व्यापार हेरेर घटबढ हुने गर्दछ । खानीबाट निकालेका ढुङ्गा काठमाडौँ, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत, बागलुङ, दाङलगायत ठाउँमा माग बढिरहेको छ ।