रामपुर समाचारदाता
रामपुर (पाल्पा), मङ्सिर २६ गते । पाल्पाको निस्दी गाउँपालिका–४ को दक्षिण भेगका स्थानीयले अब बाह्रै महिना यातायात सेवा लिन पाउने भएका छन् ।
दैनिक उपभोग्य सामानदेखि उपचार सेवासम्म नवलपुरमा निर्भर रहँदै आएका यहाँका स्थानीयलाई अरुणखोलामा पुल बनेसँगै दैनिक जीवनयापनमा सहज भएको हो । भिमाद–रामपुर–मित्याल–अरुणखोला सडकखण्ड अन्तर्गत अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण भएपछि वर्षाको समयमा हुने सास्ती हटेको स्थानीयले बताएका हुन् ।
पुल निर्माण भएसँगै उपचारका लागि बिरामीलाई पिठिउँमा बोकेर लैजानुपर्ने बाध्यता अन्त्य भएको निस्दी–४, लामेदमारका स्थानीय लालबहादुर सोतीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाको बेला बिरामी भइहाले पाल्पातर्फ भन्दा नवलपुर लैजान छिटो हुने भए पनि गाडी सञ्चालन नहुँदा डेढ घण्टा पिठिउँमा बोकेर लैजानुपर्ने बाध्यता थियो । पुल बनेपछि यस्तो समस्याबाट मुक्ति पाइएको छ ।”
पुल बनेपछि स्थानीयलाई ठुलो राहत मिलेको निस्दी–४, मुढाबासका व्यापारी गमबहादुर रासले बताउनुभयो । विगतका दिन सम्झँदै उहाँले भन्नुभयो, “सडकको ट्र्याक खुले पनि वर्षा सुरु भएपछि मङ्सिरसम्म अरुणखोलाबाट गाडी तार्न सक्ने अवस्था थिएन । अरुणखोलाबाट सामान ल्याउन सर्दी भएर ल्याउँदा तेब्बर भाडा लाग्ने गर्थ्यो । पुल बनेपछि यी सबै समस्या हटेका छन् ।” पुल सेक्टर पोखराको प्राविधिक सहयोगमा पाल्पाको निस्दी–४ र नवलपुरको मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी पक्की पुल निर्माण भएपछि याहाँका जनताले राहत महसुस गरेका छन् ।
सङ्घीय सरकारमार्फत दुई लेनको पक्की पुल गत वर्ष सम्पन्न भएको थियो । दुई स्पानसहितको पुल भ्याटसहित १६ करोड ४९ लाख ५७ हजार चार सय रुपियाँको लागतमा निर्माण भएको पुल सेक्टर पोखराका आयोजना प्रमुख ज्ञानेन्द्रप्रसाद कलौनीले बताउनुभयो ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले लुम्बिनी र गण्डकी दुई प्रदेश जोड्ने गरी निर्माण भएको पक्की पुलले निस्दीका बासिन्दालाई ठुलो राहत दिएको बताउनुभयो । उहाँले सङ्घ र प्रदेश सरकारमार्फत पहाड–तराई जोड्ने गरी निर्माणाधीन सडक गाउँपालिकाको मेरुदण्डका रूपमा रहेको बताउनुभयो । अन्य आयोजनामा धेरै पटक म्याद थप्दा पनि निर्माणको काम नसकिने तर जलुकेको पुल निर्माण कम्पनीले तोकेको समयमै सम्पन्न गरी उदाहरण पेस गरेको उहाँले बताउनुभयो ।
तनहुँको भिमाददेखि पाल्पाको रामपुर–मित्याल हुँदै अरुणखोला सडक अन्तर्गत नवलपुर क्षेत्रको खण्डमा सडक पूर्ण रूपमा स्तरोन्नति भइसकेको छ । २०७६ सालमा ट्र्याक खुलेसँगै नवलपुर खण्डमा स्तरोन्नति भइसके पनि पाल्पा खण्डमा सडक अझै स्तरोन्नति हुन सकेको छैन ।