नवीन शाही
सुर्खेत, मङ्सिर २५ गते । छिमेकी राष्ट्र चीनसँग कर्णाली प्रदेश जोडिने सीमा नाका खुला गराइदिन गृहमन्त्री रमेश लेखक समक्ष आग्रह गरिएको छ । मङ्गलबार नेपाली काङ्ग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठकमा सहभागी गृहमन्त्री लेखक समक्ष सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सीमा नाका खुला गरिदिन आग्रह गर्नुभएको हो ।
कर्णाली प्रदेशको छिमेकी मुलुकहरुसँग प्रत्यक्ष रूपमा नाका जोडिए यहाँको व्यापारिक हिसाबले सहज हुने धारणा राख्नुभयो ।
कर्णालीका डोल्पा, हुम्ला र मुगु जिल्ला चीन सिमानासंग जोडिएका छन् । चीनसँगको मित्रवत सम्बन्ध र व्यावसायिक गतिविधिलाई बढाउन सीमानाका खाल्नुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।
साथै, नेपाली काङ्ग्रेस प्रदेश सभापति ललितजंग शाहीले पनि नाका खोल्नका लागि पहल गर्नुभयो । त्यसका लागि गृहका तर्फबाट सुरक्षा रणनीति तत्काल अपनाई नाका खुला गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
पूर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले भूगोल अनुसार विकट भएको कर्णालीमा सिमकोट, डोल्पाका क्षेत्रलाई निषेधित क्षेत्र तोकिएका विषयमा ध्यानाकर्षण गराउँदै यी क्षेत्रमा पर्यटक अनुमति दिनुपर्ने बताउनुभयो । ती क्षेत्रमा गृहको स्वीकृति बिना हेलिकप्टर समेत उड्न नसकेको जानकारी गराउनुभयो ।
संघीयता अहिलेको मोडलमा सफल नभएको टिप्पणी गर्नुभयो । वडाध्यक्ष मुख्यमन्त्री भन्दा बलियो भएको टिप्पणी गर्दै सरकारको स्थायित्वका लागि पहल गर्नुपर्ने सुझाव राख्दै प्रदेशमा मुख्यमन्त्रीसम्म प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने विकल्पका रूपमा प्रस्तुत गर्नुभयो ।
कर्णालीको भूगोल बमोजिम प्रहरी चौकी स्थापना गर्नुपर्ने बताए। यसका लागि गृहमन्त्रीको पहल आवश्यक रहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले कर्णालीको जटिल भूगोलको सम्भावना पनि उतिकै बढी भएको बताउनुभयो । सुदुर र कर्णालीका क्षेत्र भविष्यको सम्भावना बोकेका ठाउँ भएको बताउँदै यसका लागि सरकारको निरन्तर पहल कदमी हुनुपर्ने बताउनुभयो ।
सुरक्षा गोष्ठीमा भएको छलफलबारे संक्षिप्त जानकारी गराउँदै कर्णालीको शान्ति सुरक्षाका विषयमा सांगठनिक अपराध नभएको तर परम्परागत अपराध कायम रहेको बताउनुभयो । आत्महत्या, सवारी दुर्घटना र लागू औषध चुनौतीका रूपमा देखिएको जानकारी गराए। ठूलो संख्यामा सांगठनिक अपराधका घटना नभएको जानकारी दिनुभयो ।
कम्तीमा एक पालिकाबाट सुरु गरेर लागुऔषधमुक्त पालिका घोषणा गर्नेगरी प्रदेशमै गर्न सुझाव दिएकोले त्यसका लागि प्रदेश सरकारको तर्फबाट समेत सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सीमा क्षेत्रका बारेमा समेत जानकारी लिएको बताउँदै सीमा स्तम्भ नभएको अवस्थालाई गम्भीरता पूर्वक हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
संविधान र व्यवस्था विरोधी गतिविधि भइरहेका छन्। त्यसका आधारमा सुरक्षा चुनौती पनि थपिएको बताउदै सांगठनिक रूपमै विभिन्न गतिविधि भइरहेको जानकारी दिनुभयो । त्यसलाई रोक्न गृह मन्त्रालयले योजनाबद्ध लागिरहेको जानकारी गराउनुभयो ।
संविधान रक्षाका लागि, सरकारको स्थिरता सहित समृद्धि र विकासका लागि ठूला राजनीतिक दल एकठाउँमा आउनुपरेको प्रष्ट्याउदै ६८ वर्षमा सात वटा संविधान बनेको भन्दै त्यसबाट पनि अस्थिरताको परिणाम देखिएको बताए। यही नै अविकासको कारण बनेको टिप्पणी गर्नुभयो ।