• ९ पुस २०८१, मङ्गलबार

मेलम्चीमा सुविधासम्पन्न स्वास्थ्य चौकी

blog

नवनिर्मित स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको उद्घाटन गर्नुहुदै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ । तस्बिर: चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर २४ गते ।
मेलम्ची नगरपालिका–१३ फटकशिलामा एक करोड ९९ लाख ५६ हजार ३६५ रुपियाँ लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ । नगरपालिकाको आफ्नै बजेटमा निर्माण सम्पन्न उक्त स्वास्थ्य चौकीको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभएको छ ।

नगरपालिकाको १३ वटै वडामा सुविधासम्पन्न १८ वटा स्वास्थ्यचौकी छन् । साथै नगरभर सात वटा सुविधासम्पन्न बर्थिङ सेन्टर छन् । स्वास्थ्यचौकी र बर्थिङ सेन्टरले नगरवासी र छिमेकी पालिकावासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दे आएको प्रमुख तामाङले जानकारी दिनुभएको छ ।

विगतमा गाउँघरमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर नहुदाँ बिरामी र गर्भवती महिलाले समयमै उपचार नपाउने अवस्थालाई दृष्टिगत गर्दै यस पटक नगरपालिकाले वडावडा, गाउँगाउँमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर बढाउन महत्त्व दिँदै आइरहेको नगरप्रमुख तामाङले बताउनुभएको छ ।

मेलम्ची नगरपालिकाका गाउँगाउँ र वडा वडामा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर बनेर उपचार सेवा पाउन थालेपछि धुलिखेल अस्पताल, राजधानीका अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ । पछिल्ला समय सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर निर्माणमा प्राथमिकता दिएका छन् । गाउँघरमा बर्थिङ सेन्टर निर्माणले गर्भवती र प्रसुतीलाई अत्यान्तै राहत मिलेको छ । स्वास्थ्य, शिक्षा, विकास निर्माणमा स्थानीय तहले काम गर्न थालेपछि जनताले प्रत्यक्ष लाभ पाएका छन् ।