ललित बसेल
सुर्खेत, मङ्सिर २४ गते । करिब छ दशकदेखि सञ्चालन हुँदै आएको सुर्खेतदेखि बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडकको अझैसम्म पनि विस्तार र स्तरोन्नति हुन सकेको छैन । बर्दियाको भुरीगाउँदेखि पैदल हिँडेर एकै दिनमा सुर्खेत पुग्न सकिने यो सडकको विस्तार र स्तरोन्नतिको काममा न सङ्घीय र न प्रदेश सरकारले सक्रियता देखाएको छ । उक्त सडक विसं २०२५ मा हुलाकी सडकका रूपमा पनि विकास गरिएको थियो ।
सुदूरपश्चिम जानका लागि निकै छोटो दुरी पर्ने र कर्णाली र लुम्बिनी प्रदेश जोड्ने ५२ किमीको यो सडकमा बेवास्ता हुँदा दुई जिल्लाका बासिन्दाले सास्ती भोग्नु परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र रानीघाटको भेरी नदीमा पुल बन्न नसक्दा आवतजावतमा समेत समस्या हुने गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पाँच किलोमिटर र सुर्खेतको रानीघाट भेरी नदीमा पुल निर्माण हुन नसक्दा वीरेन्द्रनगर–तेलपानी–भुरीगाउँ सडक निर्माणले गति लिन सकेको छैन ।
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने सबैभन्दा छोटो दुरीको यो सडकको स्तरोन्नति गर्न प्रदेश सरकारले हरेक वर्ष बजेट विनियोजन गर्ने पनि गरेको छ तर सडकको निर्माणको गति भने सुस्त देखिएको छ ।
रानीघाटदेखि तेलपानीसम्मको १८ किलोमिटर स्थानीय किसानको पहलमा सडक मर्मत गरी ट्याक्टर सञ्चालन गरेको छन् । स्थानीय तहले रानीघाटदेखि तेलपानीसम्मको सडकको मर्मतसमेत नगरेकाले श्रमदान गरी आफैँ मर्मत गरेको स्थानीय किसान बताउँछन् । तेलपानीका किसान टोपबहादुर कडायतले ट्र्याक खोलेको ५६ वर्ष पुग्दासमेत सडक विस्तार हुन नसक्नुमा सरकारको खासै चासो नभएको बताउनुभयो । उहाँले सुर्खेत र बर्दिया जोड्ने छोटो सडक भएको र यसको विस्तार र स्तरोन्नति हुन सके यहाँको बजार विस्तार हुनुका साथै सुदूरपश्चिम प्रदेश पनि जान छिटो हुने उल्लेख गर्नुभयो ।
अहिले सुर्खेततिरका मानिसलाई बर्दिया तथा सुदूरपश्चिम जान बाँकेको कोहलपुर हुँदै घुमेर जानुपर्ने बाध्यता छ । यो सडक बनेमा पैदल पनि एकै दिनमा सुर्खेतदेखि बर्दिया पुगेर सुदूरपश्चिम जान सकिन्छ । अर्का स्थानीय पूर्णबहादुर सिँजालीमगरले यो काम नेताको चुनावी घोषणापत्रमा मात्रै उल्लेख हुने बताउनुहुन्छ । चुनाव जितेर गएपछि यो सडकको विस्तार र स्तरोन्नतिमा कसैले पनि चासो नदिएको उहाँको भनाइ छ । उक्त सडकमा अझै पनि सहज रूपमा आउजाउ गर्न कठिन छ । यस क्षेत्रका बासिन्दा भुरीगाउँ–तेलपानी सडक जति सक्यो छिटो निर्माण गर्न सुझाव दिने गरेका छन् ।
२०४६ सालदेखि उक्त सडकमा आवतजावत सुरु गरिएको थियो । आर्थिक वर्ष २०६४/६५ बाट भुरीगाउँ–तेलपानी खण्डमा सरकारले बजेट विनियोजन गर्न थालेको स्थानीय शिक्षक गोविन्दबहादुर हमालले बताउनुभयो । २०६९ सालसम्म यो सडकमा एक करोड ७६ लाख रुपियाँ खर्च गरे पनि सडकको अवस्था उस्तै छ । सडक निर्माणले गति लिएको बेला राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तार गर्न रोकेपछि सर्वोच्च अदालतले सडक विस्तार गर्ने बाटो खोलिदिएको थियो । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रुख कटान र भेरी नदीमा पुल निर्माणको काम हुन नसक्दा सडक विस्तारको काम हुन नसकेको शिक्षक हमालले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले भुरीगाउँ–तेलपानी सडकलाई अन्तरप्रदेश जोड्ने सडकका रूपमा प्राथमिकतामा राखेको जनाएको छ । २०७४ सालपछि प्रदेश सरकारले उक्त सडकलाई अन्तरप्रदेश जोड्ने सडकका रूपमा प्राथमिकतामा राखेर बजेटमा समावेश गरेको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले भुरीगाउँ–तेलपानी सडकसहित चार वटा सडकलाई आव २०७६/७७ मा १८ करोड र त्यसपछिको आवमा ३९ करोड रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो । भुरीगाउँ–तेलपानी सडकको १८ किलोमिटर स्तरोन्नति गर्न थोदुङ जागृति जेभीसँग १३ करोड २६ लाख रुपियाँमा सम्झौता गरी निर्माणको जिम्मा दिइएको उहाँले जनाउनुभयो तर निर्माण कम्पनीले हालसम्म १० प्रतिशत भौतिक प्रगति मात्र गरेको छ ।