• ९ पुस २०८१, मङ्गलबार

चिसो छल्न ज्येष्ठ नागरिकलाई फाइबर सिरक

blog

वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिँदै । तस्विरः राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, मङ्सिर २३ गते । खोटाङको रावा बेसी गाउँपालिका –६ हौँचुरका ज्येष्ठ नागरिकलाई चिसो छल्न फाइबरको सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई आइतबार फाइबरको सिरक प्रदान गरेको हो ।

ज्येष्ठ नागरिकको सम्मानसहित उहाँहरुलाई चिसोबाट बचाउन सिरक उपलब्ध गराइएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । वडाभित्रका ४५ जना ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको उहाँको भनाइ छ । विशेषगरी विपन्न समुदायका ज्येष्ठ नागरिकलाई सिरक प्रदान गरिएको छ । 

जाडो वृद्धि हुँदै गएकाले ज्येष्ठ नागरिकलाई स्वस्थ राख्न न्यानो सिरक उपलब्ध गराइएको वडाध्यक्ष कार्कीले बताउनुभयो । रावाबेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिलाकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीलगायतको उपस्थितिमा ज्येष्ठ नागरिकलाई सिरक हस्तान्तरण गरिएको हो । 

चालु आर्थिक वर्ष २०८१–८२ मा वडाबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम वडाले तय गरेको थियो । सोहीअनुसार जाडोको समयमा न्यानो सिरक प्रदान गरेर ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।