बुटवल समाचारदाता
बुटवल, मङ्सिर २३ गते । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा पुस ३ गतेदेखि हुने औद्योगिक व्यापार मेलामा कृषितर्फ विषादीरहित उत्पादनलाई प्राथमिकता दिइने भएको छ । कृषिमा व्यावसायिक विकासका लागि कृषिजन्य वस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिइने निर्णय भएको मेला कार्यसम्पादन समिति कृषि उपसमितिका संयोजक मोहमद याकुवले जानकारी गराउनुभयो ।
बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ३ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन हुने मेलामा कृषिजन्य वस्तुका स्टललाई प्राथमिकताका साथ विशेष छुट प्रदान गरिएको समेत आयोजकले जनाएको छ । कृषिमा व्यावसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिवृद्धि गर्नका लागि कृषिमा भएका असल अभ्यास, कृषिमा आधारित कपडा (अल्लो), कृषि औजार कृषि प्रविधि, हलो उन्नतीकरणलगायत स्थानीय उत्पादन समावेश गरिने आयोजक समितिले जनाएको छ । त्यसै गरी स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा सामूहिक कृषि सूचना केन्द्रको व्यवस्थासमेत गरिने भएको मेलाका संयोजक उद्योग वाणिज्य सङ्घ बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो ।
त्यसै गरी कृषिमा डिजिटल विकासका बारेमा समेत जानकारी गराउने गरी कार्यक्रम तय गरिएको छ । मेलामै कृषिसंग सम्बन्धित विषयमा अन्तर्क्रिया कार्यक्रमसमेत गरिने मेला कार्यसम्पादन समितिका सदस्य तथा तालिम गोष्ठी उपसमितिका संयोजक बालकृष्ण पौडेलले बताउनुभयो । मेलामा डेरीजन्य उत्पादन खिर, कुरौनी, कफीलगायतका परिकार राखिने बुटवल उद्योग वाणिज्य सङ्घ डेरी वस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले जानकारी गराउनुभयो । त्यसै गरी मेलामा कृषिसहित सेवा, हस्तकला, गार्मेन्ट, अटोमोबाइल्स र होटेल सेवासमेत गरी करिब पाँच सय स्टल रहने कार्यसम्पादन समितिका उपसंयोजक सुरज भट्टराईले जानकारी गराउनुभयो । त्यसै गरी बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा लोकदोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटबल, विद्यालयस्तरीय लोकदोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, भजन, चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता र टिकटक प्रतियोगिता गर्न लागिएको सङ्घका अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।