बोमलाल गिरी
नवलपुर, मङ्सिर २३ गते । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती–१६ डन्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन् ।
डन्डा बजार व्यवस्थापन समितिको नेतृत्वमा शनिबार आधा घण्टा सडक अवरुद्ध गरिएको हो । बजार व्यवस्थापन समितिका अध्यक्ष हरि केसीले पाँच वर्ष अघिदेखि भत्काएर राखेका सडक अझै मर्मत नगरेको र कालोपत्रे गर्न ठिक्क परेका ठाउँमा पनि एक वर्षदेखि कालोपत्रे नगरेर धुलो उडाउने बनाएकाले सडक अवरुद्ध गरिएको बताउनुभयो ।
उहाँले प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले डन्डाका स्थानीय र सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिबिच छलफल गराउने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलाएको बताउनुभयो । तत्काल डन्डा आसपासको सडक कालोपत्रे नगरे पुनः आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले यही हप्ताभित्र ठेकेदारलाई बोलाएर कुरा गर्ने बताउनुभएको छ । सरकारले नै दुई वटा विकल्प दिएर चिनियाँ ठेकेदारलाई चेतावनी दिइसकेकाले थोरै भए पनि काम गर्छ कि भन्ने आशा पलाएको उहाँको भनाइ छ । सरकारले यही डिसेम्बर अन्तिमसम्म चार लेनमध्ये दुई लेन सडक सम्पन्न गरिसक्नुपर्ने छ र सन् २०२५ मार्चसम्म पूरै बाटो एकतर्फी विस्तारको काम सक्नु पर्ने विकल्प दिएको छ । यी विकल्प अनुसार काम नभए ठेक्का सम्झौता तोड्ने नेपाल सरकारको चेतावनी छ ।
आठ करोड भुक्तानी
यसैबिच चिनियाँ ठेकेदार कम्पनीले नेपाली ठेकेदारलाई आठ करोड रुपियाँ भुक्तान गरेको छ । नेपाल रोडा, ढुङ्गा व्यवसायी समिति, नवलपुरका अध्यक्ष भोजेन्द्र रायमाझीले आठ करोड रुपियाँ भुक्तान गरेको र रोडा ढुङ्गा व्यवसायीको मात्र अझै ३५ करोड रुपियाँ भुक्तानी पाउन बाँकी रहेको बताउनुभयो ।
चिनियाँ ठेकेदारले सडकखण्ड विस्तारका क्रममा प्रयोग भएका सामग्रीको रकम नदिएको भन्दै नेपाली उद्योगी व्यवसायीले आन्दोलन गरेका थिए । क्रसर व्यवसायी र ढुङ्गा, गिट्टी, बालुवा सप्लायर्सले चिनियाँ ठेकेदार कम्पनीको पश्चिम खण्डमा धर्ना दिएर १५ दिनभित्र रकम भुक्तान गर्न चेतावनी दिएका थिए । १५ दिनमा नदिए पनि झन्डै डेढ महिनामा यो रकम भुक्तान गरेको हो ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका उपाध्यक्ष रामु अधिकारीका अनुसार ढुङ्गा, गिट्टी र बालुवाका १३ वटा सप्लायर्स र क्रसर व्यवसायीको ७५ करोड, पेटी ठेकेदारको २० करोड र ढुवानीका लागि प्रयोग भएका एक्साभेटरसहितका सवारीसाधनको पाँच करोड गरेर एक अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको थियो । यसमा बिटुमिन र छडवालाले पाउनुपर्ने रकम नजोडिएको उपाध्यक्ष अधिकारीको भनाइ छ ।
हालसम्म पूर्वी र पश्चिम दुवै खण्ड गरेर झन्डै ५४ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुखले जनाएका छन् । ११३ किलोमिटर लामो सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपियाँमा ठेक्का सम्झौता भएको थियो । गत साउन १० गते एक वर्षका लागि तेस्रो पटक थपिएको म्याद चार महिना बित्नै लाग्दा पनि सोचे अनुसार सडक विस्तार हुन सकेको छैन ।
२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौता अनुसार २०७५ साल चैतमा बाटोको शिलान्यास गरिएको थियो ।