• ९ पुस २०८१, मङ्गलबार

सामुदायिक वनमा पार्क निर्माण गरिँदै

blog

मिलन क्लवका सदस्यहरु जनश्रमदान गर्दै । तस्बिर : प्रनिश गिरी

प्रनिश गिरी
कुश्मा (पर्वत), मसर २३ गते ।
पर्वतको सदरमुकाम कुश्माका स्थानीय युवाहरु सामुदायिक वनमा पार्क निर्माण गर्न गर्न थालेका छन् । कुश्मा नगरपालिका ५ र ६ का पर्वत मिलन क्लवमा आवद्ध युवाहरु वडागाउँ सामुदायिक वनभित्र पार्क निर्माण गर्न सक्रिय भएका हुन् ।

सामाजिक सेवाको क्षेत्रमा समर्पित पर्वत मिलन क्लव जिल्लाकै जेठो क्लवमध्येमा पर्छ । क्लवले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा जनश्रमदान गरी पार्क निर्माण गर्न लागेका हुन् ।

क्लवका अध्यक्ष झलकबहादुर कार्कीेले आफू अध्यक्षमा चयन भएलगत्तै पार्क निर्माणको प्रस्ताव गरेको, तर कारणवश ढिलाई भए पनि अहिले काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सामाजिक कामअन्तर्गत नै पार्क निर्माणमा श्रमदान गरिरहेका छौं । बजारीकरणले मानिसहरुको गोठमा गाईवस्तु छैनन् । खाना पकाउन ग्यास चुल्हो बाल्ने गर्दछन् । यही कारण पनि सदरमुकाममा पर्ने वनमा काँटछाँट नगर्दा झाडी थियो । झाडीका कारण मानिसहरु वनको बिचबाट हिँड्न पनि डराउने थिए । नगरपालिकाको बजारक्षेत्रमा घुम्न र डुल्न मन बहलाउन आवश्यक सुन्दर पार्क छैन । पार्क निर्माणले पर्यटनको प्रवद्र्धन हुने विश्वास छ ।’’

क्लवका ८२ जना आजीवन सदस्यहरु दैनिक बिहान र दिउँसो पार्क निर्माणका लागि श्रमदान गरिरहेका छन् । यसैगरी, क्लवले पार्क निर्माणका लागि सदस्य रमेश कुमार श्रेष्ठको संयोजकत्वमा मिलन सल्लाघारी पार्क निर्माण समिति गठन गरेको छ ।

निर्माण समिति संयोजक श्रेष्ठले सदरमुकाममा पर्ने वन क्षेत्र झाडीका कारण कुरुप बनेको बताउनुहुँदै भन्नुभयो, ‘‘कसैको ध्यान पुग्न नसक्दा पर्यटकीय सम्भावना बोकेको स्थान फोहोर फाल्ने र दुर्व्यसनी स्थल भइ कुरुप बनेको थियो । अहिले वन डिभिजन कार्यालयसँग परामर्श र अनुमति लिई हामीले झाडी पन्छाउदैछौं । आकर्षक पर्यटकीय स्थल बनाउन विस्तृत गुरुयोजना तयार पारी सोही अनुसार अगाडि बढ्ने छौं ।’’

संयोजक श्रेष्ठका अनुसार सामुदायिक वनको कुल क्षेत्रफलमध्ये करीब दुई सय रोपनी जग्गाको झाडी महिना दिन भित्र हटाउने छ ।

पार्क निर्माण स्थलमा खानेपानीको व्यवस्था गरिएको छ भने सदस्यहरुको आफ्नो व्यक्तिगत, स्थानीय सरकार र सरोकारवाला सवै पक्षको आर्थिक र भौतिक सहयोगबाट आफ्नो वृहत उद्देश्य पूरा गर्ने लक्ष्य लिएको सोही क्लवका उपाध्यक्ष विनोद विक्रम पोख्रेलले बताउनुभयो । वडागाउँ सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष मानकुमारी गिरीले युवाहरुले सामुदायिक वनमा जनश्रमदान गरी पार्क निर्माण गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो ।

पार्क निर्माणस्थलसँगै दुईवटा झोलुङ्गे पुल पर्दछन् । एकातिर कालीगण्डकी नदी माथि कुश्मा र बाग्लुङको कैया जोड्ने झोलुङ्गे पुल छ भने अर्को तिर जिल्लाको दक्षिणी भेग जाने मोदीखोला माथि बनेको कुश्मा र मुडिकुवा जोड्ने अग्लो झोलुङ्गे पुल छन् । दैनिक सैयौंको सङ्ख्यामा झोलुङ्गे पुल हेर्न आउने आन्तरिक तथा बाह्रय पर्यटकका लागि समेत पार्कले आकर्षण गर्नेछ ।