• ९ पुस २०८१, मङ्गलबार

गाउँ गाउँमा पुग्यो सडक, हुँदै छ बजार विस्तार

blog

जाजरकोटको ग्रामीण बस्ती ।तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, मङ्सिर २३ गते । जिल्लाका ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । गाउँबस्ती सडक सञ्जालमा जोडिएपछि सर्वसाधारणलाई देशका अन्य सहरसँगको पहुँचमा सहज भएको छ भने कतिपय ग्रामीण क्षेत्रमा नयाँ नयाँ भौतिक संरचना निर्माण हुन थालेका छन् । गाउँका स्वरूप फेरिन थालेका छन् । कतिपय ठाउँमा ससाना बजार विकास हुन थालेका छन् । केही वर्षअघि जुनीचाँदे गाउँपालिकाबाट सदरमुकाम खलङ्गा पुग्न दुई दिन पैदल हिँड्नु पर्दथ्यो । गाउँबस्तीमा सडक सञ्जाल पुगेपछि पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । 

विगतमा जाजरकोटको बारेकोट गाउँपालिका–३, मुल्साम, नलगाड नगरपालिका–३ वडा कार्यालयसम्म सडक सञ्जाल नजोडिँदा यहाँका सर्वसाधारणले केही अप्ठ्यारो भोग्दै आएका थिए, अहिले यी क्षेत्रमा सडक पुगेपछि सर्वसाधारणले सहज महसुस गरेका छन् । 

असार, साउन, भदौ र असोजमा बर्खाको पानीले पहिरो गएपछि रोकिने गरेका छन् । स्थानीय तहले ती ग्रामीण सडक समयमै मर्मत नगर्दा करिब चार महिना दुःख पाए पनि बाँकी आठ महिना सहज रूपमा यातायातका साधन प्रयोग गर्न पाएका छन् । जुनीचाँदे गाउँपालिका–५ का गोपाल गिरीले स्थानीय तह भएपछि विकासले काँचुली फेर्दै गएको बताउनुभयो । स्थानीय सरकारबाट सम्पादन हुने काम कछुवा गतिमा भइरहेकाले पनि जनताले सोचे अनुसार विकासको अनुभूति गर्न नसकेको उहाँले दुःखेसो पोख्नुभयो । बर्खामा पहिरोले अवरुद्ध गरेका सडक समयमा मर्मत गर्ने जिम्मा स्थानीय तहको भए पनि बजेट अभावका कारण देखाउँदै सडकमा थुप्रिएको पहिरोसमेत नपन्छाउँदा केही महिना यहाँका बासिन्दाले दुःख पाउने गरेका छन् । 

बारेकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्रबहादुर शाहले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले सबै गाउँबस्तीमा जोडेका सडक सञ्जाल वर्तमान सरकारले समयमा मर्मत नगर्दा सर्वसाधारणले दुःख पाइरहेको बताउनुभयो । स्थानीय सरकार जनताको दुःखसुखको सारथि भएकाले गरिब, दलित, महिला, बालबालिका, वृद्धवृद्धा सीमान्तकृत वर्गको आवश्यकतालाई ध्यान दिनुपर्ने उहाँको सुझाव छ । 

ग्रामीण बस्तीका जनताका दुःख अन्त्य गर्न स्थानीय सरकारले पहल गर्नु पर्छ । उहाँले भौगोलिक विकटता, विकासका हिसाबले पछि परेका गाउँबस्तीलाई विकासमा जोड्न प्रदेश तथा केन्द्र सरकारसँग समन्वय सहकार्य गर्नुपर्ने बताउनुभयो । 

यसअघिका निर्वाचनमा पैदल हिँडेर दुई दिनमा मतपेटिका सदरमुकाम ल्याउने गरेकोमा अहिले भने जिल्लाका सात वटै स्थानीय तह सडक सञ्जालमा जोडिएपछि सम्बन्धित स्थानमा एकै दिनमा पुग्ने गरेका छन् । सडकको पहुँचले गाउँघरतिर सानातिना बजारको विकास हुन थालेका छन् ।