गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २३ गते । युवामाझ चर्चित गायक समीर श्रेष्ठले न्यु जेनिथ दिवसमा प्रस्तुति दिनुहुने भएको छ । न्यु जेनिथ इङ्ग्लिस मोडल स्कुल भुरुङखेलले आगामी शनिबार सो दिवसको आयोजना गर्न लागेको हो ।
न्यु जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जनले पत्रकार सम्मेलनमा उक्त दिवसमा गायक समीरसहित सुरज एन्ड एलरिज ब्यान्ड प्रमुख आकर्षण रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “न्यु जेनिथ २६ वर्ष पुगेको अवसरमा फरक किसिमले दिवसको आयोजना गर्न लागेका छौँ । बिहान ११ देखि ४ बजेसम्म हुने उक्त दिवसमा हामीले पाँच हजार जना सामेल हुने अपेक्षा गरेका छौँ ।” प्रिन्सिपल महर्जनका अनुसार पहिलो भागमा आफ्नै विद्यालयका विद्यार्थीको प्रस्तुति हुने छ भने दोस्रो भागमा व्यावसायिक कलाकारको प्रस्तुति रहने छ ।
सो दिवसमा अर्केस्ट्रा प्रस्तुति, नृत्यका साथै रोबोटिक प्रदर्शनी पनि गरिने छ । यसै गरी दिवसमा फेस पेन्टिङ, पुरस्कारसहितका पाँच खेल, आर्ट तथा हस्तलेखन प्रदर्शन पनि आकर्षणका रूपमा रहने छन् । यसै गरी विभिन्न उपहार सामग्रीसहितको र नेवारी खाजा स्टल पनि दिवसमा हुने छन् ।