सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, चैत २४ गते । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३, चनौटेमा आइतबारदेखि औपचारिक रूपमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारको नीति अनुसार चनौटेमा आधारभूत अस्पताल सञ्चालनमा आएको हो । नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लाका दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र गोलन्जोर गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् ।
अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले उद्घाट्न गर्दै अस्पताल भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरू तुलसीबहादुर श्रेष्ठ, रुद्रबहादुर विक, पदमबहादुर कटुवाल र दिलबहादुर श्रेष्ठलाई सम्मानपत्र वितरण गर्नुभयो । फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले वडामा सञ्चालित स्वास्थ्य चौकीको स्तरोन्नति गरी १० शय्याको आधारभूत अस्पतालमा परिणत गरिएको बताउनुभयो । फिक्कल गाउँपालिका २५ हजारभन्दा थोरै जनसङ्ख्या रहेकाले नेपाल सरकारको मापदण्ड अनुसार १० शय्याको अस्पताल स्थापना गरिएको हो । अस्पतालमा हाल दुई जना एमबिबिएस चिकित्सकको व्यवस्था गरी आधारभूत स्वास्थ्य सेवा स्थानीयस्तरमा नै नागरिकलाई उपलब्ध गराइँदै आएको छ ।
गाउँपालिका अध्यक्ष सुनुवारले भन्नुभयो, “दुई जना चिकित्सकसहित १७ जना जनशक्तिको व्यवस्था गरी हाल स्वास्थ्य सेवा दिइरहेका छौँ । भवन निर्माण सम्पन्न भएपछि सेवा सुरु गरेको एक वर्ष बढी भइसक्यो । एक्स–रे, प्रसूति, स्वास्थ्य बिमाको प्रथम विन्दु कार्यान्वयनलगायतका आधारभूत स्वास्थ्य सेवा सञ्चालन भइरहेका छन् ।” गाउँपालिकाका अनुसार अस्पतालको नवनिर्मित भवन सङ्घीय सरकारको १० करोड रुपियाँ सहयोगमा २०७७ साल असारदेखि निर्माण सुरु गरी एक वर्षअघि निर्माण सम्पन्न भएको हो । अस्पतालको भवन निर्माण दुई वर्षभित्र सक्ने लक्ष्यसहित गौरीमाई कन्स्ट्रक्सनले भवन निर्माणको जिम्मा पाएको थियो तर विभिन्न कारणले निर्धारित समयमा नै सम्पन्न हुन नसकेपछि पटक/पटक म्याद थप गरिएको थियो । सिन्धुलीको पूर्वी विकट क्षेत्रमा रहेको यस गाउँपालिकामा चिकित्सकसहितको अस्पताल नहुँदा स्थानीय भरपर्दो उपचार खोज्दै अन्यत्र जान बाध्य हुँदै आएका थिए । अस्पताल सञ्चानलमा आएपछि फिक्कल गाउँपालिकाको महाभारत क्षेत्रका बासिन्दालाई सहज भएको छ ।
सिन्धुलीमा बाँकी हरिहरपुरगढी, मरिण र सुनकोशी गाउँपालिकामा आधारभूत अस्पतालको भवन धमाधम निर्माण भइरहेको छ । घ्याङलेख गाउँपालिका–३, सोलाभन्ज्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।