• ८ पुस २०८१, सोमबार

साढे छ वर्षसम्म पनि अधुरै सितापुष्प वाटिका

blog

जनकपुरधाम उपमहानगरपालिका १३ रानी बजारस्थित सितापुष्प वाटिका मणिमण्डपअन्तर्गत निर्माणाधिन अवस्थामा रहेका भौतिक संरचना । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २२ गते । 
जनकपुरधामको ऐतिहासिक र धार्मिक महत्त्व बोकेको मणिमण्डपलाई वैवाही गन्तव्यका रूपमा विकास गर्न ल्याएको सितापुष्प वाटिका मणिमण्डपको निर्माण योजनाको काम साढे छ वर्ष बितिसक्दासमेत अधुरै छ ।

जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ रानी बजारस्थित सुरु गरिएको सितापुष्प वाटिका योजनाको काम तीन वर्षमा सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण साढे छ वर्षसम्म पनि काम सम्पन्न नहुँदा स्थानीयवासीको आशा निराशामा बदलिएको छ ।

सङ्घ सरकारले २०७५ सालमा जनकपुरधामको ऐतिहासिक महत्त्वलाई उजागर गर्न सीताराम विवाह मण्मिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न सितापुष्प वाटिका निर्माण थालनी गरेको थियो । योजनाले रामायणकालीन मिथिला सभ्यता र प्रकृतिको सामञ्जस्य झल्काउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।

२०७५ सालमा काठमाडौँको रबिना कन्स्ट्रक्सन कम्पनी लिमिटेडले वाटिकाअन्तर्गतका भौतिक निर्माणको जिम्मेवारी पाएको थियो । सम्झौता अनुसार २०७८ साल जेठ २४ गतेसम्म तीन वर्षमा निर्माण सम्पन्न भइसक्नु पर्ने थियो । तर पहिलो सम्झौता मिति सकिएको तीन वर्षभन्दा बढी हुँदा पनि निर्माण कार्य सकिएको छैन । सम्झौता मिति सकिए पनि कम्पनीले विभिन्न कारण देखाउँदै पटक पटक म्याद थप गर्दै आएको छ ।

सङ्घीय सरकार सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामअन्तर्गत २०७५ सालमा भ्याटबाहेक १८ करोड १५ लाख २२ हजार ७९३ रुपियाँको लागतमा निर्माण कार्यको थालनी भएको थियो । तर कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना सम्पन्न हुन नसकेको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोदकुमार यादवले बताउनुभयो । उहाँले कम्पनीलाई पटक–पटक ताकेता गरेपनि कम्पनीले कुनै प्रतिक्रिया नदिएको जानकारी दिनुभयो ।

उहाँले निर्माण कम्पनीलाई वैशाखदेखि मङ्सिरसम्म कयौँ पटक लिखित रूपमै ताकेता गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीलाई पटक–पटक ताकेता गरेपनि कुनै प्रतिक्रिया छैन, टेन्डर लिने अनि पेटी ठेकेदारलाई काम दिने हुँदा समयमा काम सम्पन्न हुन नसकेको हो ।” कम्पनीले निर्माणका लागि म्याद थपेको समय मङ्सिर २२ मा समाप्त हुने र त्यसपछि जरिवाना लाग्नेछ, अहिलेसम्म वाटिकाको निर्माणको काम भौतिकतर्फ ८० प्रतिशत र वित्तीयतर्फ सम्झौता रकमको ७६ प्रतिशत प्रगति भएको प्रमुख यादवले बताउनुभयो ।

यस्तै, स्थानीय पूजा सामग्री व्यापारी राममश्रे रावतले सितापुष्प वाटिका योजनाको कार्य सम्पन्न नहुँदा प्राचिनकालीन रामसीता विवाह स्थल मणिमण्डप ओझेलमा परेको बताउनुभयो । उहाँले यहाँ बनाइने विवाह मण्डपको योजना पनि जानकी मन्दिरमा लगेको बताउनुहुँदै भन्नुभयो, “विवाह मण्डप निर्माणको योजना जानकी मन्दिर छेउमा लगेपछि कुनै पनि योजना यहाँ राखिएको थिएन तर, सङ्घ सरकारले ल्याएको वाटिकाको योजनाअन्तर्गतको काम पनि समयमा सम्पन्न नहुँदा यस ठाउँको विकास हुन नसकेको हो ।”

‘‘हेर्नुस् विवाह पञ्चमी महोत्सवमा जानकी मन्दिर भरिभराउन छ तर, यहाँ आक्कल झुक्कल पर्यटक मात्र आएका छन्, प्राचिनकालमा विवाह भएको स्थल मणिमण्डप हो,’’ उहाँले भन्नुभयो । 

त्रेता युगमा राम र सीताको विवाह भएको स्थान मणिमण्डपको अवस्था अझैसम्म पनि सुधार नहुँदा पर्यटकहरूको आगमनमा वृद्धि हुन सकेको छैन । उक्त योजनाले मणिमण्डपलाई वैवाहिक गन्तव्यको रूपमा विकास हुँदा पर्यटकीय गन्तव्य बनाउन ठुलो मद्दत पुग्ने छ ।  तर योजना समयमा सम्पन्न नहुँदा निराशा छाएको मणिमडपका पुजारी नवल दासको भनाइ छ । उहाँले प्राक्कालीन धार्मिक स्थल ओझेलमा परेको बताउनुहुँदै कुनै सरकारको नजरमा मणिमण्डप नपरेको गुनासो गर्नुभयो ।

प्राक्कालीन विवाह स्थल मणिमण्डपलाई विकास गर्न नसकिएको प्रति मन्दिरका पुजारी नवल दास भन्नुहुन्छ, ‘‘बेला बखत भारतीय पर्यटकहरू आगमन हुन्छ, नत्र भने अन्य पर्यटकहरूको आगमन यहाँ हुन सकेको छैन । कतिपयलाई यस स्थानको बारेमा जानकारी नै छैन । जानकी मन्दिरको छेउमा बनाइएको विवाह मण्डपको छायामा रामसीताको वास्तविक विवाह भएको स्थान मणिमण्डप ओझेलमा परेका छ । लामो समयको अन्तरालमा मणिमण्डपमा निर्माण हुन थालेको जनक दरबार र धर्मशाला निर्माणमा भएको ढिलासुस्तीप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ ।’’ उहाँले यो ऐतिहासिक विवाह स्थल भएको बताउनुभयो ।

कम्पनीका तर्फबाट साइट इन्जिनियर सुनिलकुमार सिंहले योजनाअन्तर्गत स्यानीटरी, विद्युतीय जडान, झ्यालमा सिसा राख्ने र रंगरोगनको काम मात्र बाँकी रहेको बताउनुभयो । उहाँले कोरोनाका कारण समयमा सामान उपलब्ध नहुँदा काम समयमा सम्पन्न हुन नसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अबको दुई/तीन महिनामा सम्पूर्ण काम सम्पन्न हुन्छ ।”

दुई बिघा क्षेत्रफलमा फैलिएको सितापुष्पा वाटिका मणिमण्डप योजनाअन्तर्गत मणिमण्डप परिसरभित्र दुईतल्ले जनक दरबारको प्रति मूर्तिसहित दुई तल्ले भवन, धर्मशाला, स्वयंवर मण्डप, दुई वटा प्याभिलियन, मन्दिर र पसलका लागि आठ सटरलगायत भौतिक संरचनाहरू रहेका छन् ।

वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना निर्माणमा ढिलाइ भएका कारण  यहाँका व्यापार व्यवसाय पनि फस्टाउन सकेको छैन । स्थानीय भन्छन्, “दरबार निर्माणले एक खालको आशा पलायन पनि दरबार समयमा निर्माण नहुँदा निराश भएका छौ ।”