अविनाश चौधरी
धनगढी, मङ्सिर २१ गते । सुदूरपश्चिम महोत्सवको क्रममा हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने भएको छ ।
कैलाली, कञ्चनपुरको धार्मिक क्षेत्र र खप्तड, रामारोशन, बडिमालिका लगायतको अवलोकन गराउने गरी हेलि टुरको व्यवस्था गर्न थालिएको हो । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजना शनिबारदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै छ ।
महोत्सवमा हेलि टुर सेवा सञ्चालनका लागि तयारी भइरहेको सङ्घका सल्लाहकार मायाप्रकाश भट्टले जानकारी दिनुभयो ।
उहाँले कैलाली, कञ्चनपुरमा रहेको विभिन्न धार्मिक स्थलको अवलोकन गराउने गरी सिटी टुर हेलि सेवा र खप्तड, रामारोशन, बडिमालिकाका लागि हेलि टुर सेवा सञ्चालन गरिने बताउनुभयो ।
व्यापार, कृषि, उद्योग, पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सङ्घले हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।