• ७ पुस २०८१, आइतबार

विवाहपञ्चमीको सान्दर्भिकता

blog

नेपाल र भारतबिच परम्परागत एवं बहुआयामिक सम्बन्ध रहिआएको छ । यी दुई देशबिचको परस्पर सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउनमा सामाजिक एवं सांस्कृतिक सम्बन्धको ठुलो भूमिका रहेको छ । यस सम्बन्धको प्रारम्भ त्रेतायुगदेखि भएको हो । प्राचीन अयोध्याका राजकुमार भगवान् श्रीराम र मिथिलाकी राजकुमारी सीताको शुभविवाह भएपश्चात् नेपाल र भारतबिचको, सामाजिक एवं सांस्कृतिक सम्बन्धले निरन्तरता पाउँदै आएको छ । यो वैवाहिक सम्बन्ध हाम्रा आराध्य भगवान् ‘सीता–राम’बाट सुरु भई सर्वसाधारणको घरसम्म परम्परा र हाम्रो जीवनको अभिन्न अङ्ग बन्न गएको छ । तराई–मधेशमा मात्रै होइन भारतसित सीमा जोडिएको पूर्वी र पहाडका क्षेत्रका जनताका पनि सीमावर्ती क्षेत्रमा वैवाहिक सम्बन्ध र घनिष्ठता त्यति नै प्रगाढ रहेका छन् । नेपाली र भारतीयबिच ‘बेची–रोटी’को सम्बन्ध भनिनुको कारण नै एक देशका चेली–बेटीको विवाह अर्को देशमा हुनु हो । प्रत्येक सङ्कटका बेला दुवै देशका एकअर्काका नातेदारले आफ्नो क्षमताले भ्याएसम्म तत्काल तन, मन र धनले सहयोग गर्न, सहानुभूति व्यक्त गर्न र सम्बन्ध एवं उल्लास साटासाट गर्न पुग्छन् । जनस्तरमा स्थापित यो सम्बन्ध सागरभन्दा बढी गहिरो र सगरमाथाभन्दा पनि अग्लो रहेको छ । प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिनलाई ‘विवाहपञ्चमी’को रूपमा मनाइने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ । शुभ विवाहपञ्चमीका दिन जनकपुरधाममा नेपाल र भारतका लाखौँ तीर्थालुको सहभागिता र उपस्थिति २१ औँं शताब्दीमा पनि हाम्रो त्रेतायुगकालीन वैवाहिक सामाजिक–सांस्कृतिक सम्बन्धप्रतिले समर्थन र स्वीकृति हो । यस वैवाहिक सम्बन्धले हामीलाई एक अर्कासित अभिन्न त बनाएको छ नै, धार्मिक र सांस्कृतिक विरासतका धनी पनि बनाएको छ ।

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्व छन् । जसमध्ये सांस्कृतिक समानतालाई प्रमुख रूपमा लिन सकिन्छ सरकारको सञ्चालन आफ्नै तरिका र परिस्थितिको बाध्यतात्मक अवस्थाबाट हुन सक्छ तर दुई देशबिचको सांस्कृतिक सम्बन्ध यति प्रगााढ एवं अद्वितीय छ कि यसको बराबरी विश्वका अन्य कुनै पनि देशबिचको सम्बन्धले गर्न सक्दैन । नेपाल–भारत परस्पर आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रूपमा अनन्य भावले जोडिएका छन् । राजनीतिक रूपले नेपाल–भारत दुई पृथक् सार्वभौम सत्तासम्पन्न, स्वतन्त्र एवं अलग अलग अस्तित्वका देश हुन तर सामाजिक सांस्कृतिक धार्मिक रूपले यी दुई राष्ट्र एक अर्काका निम्ति अभिन्न छन् ।

नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिमा बाँध्न सक्दैनौँ किनभने वैदिक ज्ञानको अस्तित्वलाई हामी आफूसँगै सुन्दै र बुझ्दै आएका छौँ । धर्म अध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एक अर्कासित यसरी बाँधिदिएको छ कि दुवै देश पृथक् भएर पनि अभिन्न छन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ, नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका वाहक छन् । हिमालय, हामी दुवै देशका निम्ति आत्मसाधनको स्थल रहिआएको छ । आदिम कालदेखि नै हिमालयका महान् शिखरहरूले हामीलाई आध्यामिक शक्ति प्रदान गर्दै आएका छन् ।

नेपाल–भारत सम्बन्धको आधार पौराणिक, धार्मिक, भौगोलिक, सांस्कृतिक, वैवाहिक, सामाजिक, राजनीतिक र आर्थिक पक्ष पनि रहिआएको छ । रहन सहन, खानपान, जीवनशैली, सामाजिक एवं सांस्कृतिक मान्यता तथा संस्कार पनि एउटै किसिमको रहने गरेका कारण हामी एक–अर्काको देशमा हुँदा पनि हामीलाई आफ्नोपनको अनुभूति भइरहेको हुन्छ । खुला सिमाना हुनुको कारण पनि भरसक यही नै हो । हाम्रा सामाजिक सम्बन्ध कहिल्यै कमजोर भएन । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामाया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःख भागजनःको कल्याणमयी भावनाबाट हाम्रो सामाजिक व्यवस्था ओतप्रोत रहेको छ ।

देवीदेवताका मठ मन्दिरको देशको रूपमा प्रचलित नेपाल र भारतमा शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सिख आदि धर्मावलम्बीहरू आफ्नो इच्छा अनुसार धर्मानुष्ठान गर्ने गर्छन् । धर्मानुष्ठानका बेला सङ्कल्प लिँदा हरि ऊँ तत्सत आर्यावर्तान्तर्गते भारत वर्षे भारतखण्डे जम्बुद्धीपे बौद्धावतारे आदिको उच्चारण गरिन्छ, गणेशादि देवीदेवता पुजनादिका वाबजुद प्रमुख रूपमा ब्रह्मा, विष्णु र महेशको पुजन गर्छन् । यिनलाई जन्मदाता, पालनकर्ता र संहारकर्ताको रूपमा जानिन्छ । महाकाली, महालक्ष्मी र महासरस्वती यी तीन शक्तिलाई कष्ट दूर गर्ने, वैभव प्रदान गर्ने तथा वुद्धि प्रदान गर्नेको रूपमा मान्यता रहेको छ । यसरी नै पञ्चदेवता, विष्णु, पञ्चभौतिक, दशदिकपात, एवं नवगहादि देवतालाई समान रूपमा पूजा अर्चना गरिन्छ र यिनका अहिंसा परमोधर्मको भावना बढी हुन्छ । यी ईश्वर अंश जीव अविनाशीको मान्यता राख्दै पशुपन्छी जड जङ्गममा पनि ईश्वरकै अंश मान्ने गर्छन् ।

नेपाल र भारत आर्यावर्तान्तर्गतका देश मानिन्छ । यस भूभागमा वैवाहिक सम्बन्ध निकै पुरानो छ । पौराणिक कालदेखिको यस सम्बन्धलाई रोटी बेटीको पनि सम्बन्ध मानिन्छ । उत्तरा–अभिमन्यु, अंशुवर्माकी छोरी र हर्षवद्र्धनको वैवाहिक सम्बन्ध पनि निकै पुरानो रहेको छ । त्रेतायुगमा स्थापित अयोध्या र जनकपुरको सम्बन्ध एक्काइसौँ शताब्दीमा पनि कायम छ । भारत मध्य प्रदेशको टिकमगढकी महारानीले तीन–चार सय वर्षअघि जनकपुरधामको रामजानकी मन्दिरको निर्माण नौ लाख रुपियाँमा गराएकी थिईन् शायद त्यसैले होला जनकपुरको रामजानकी मन्दिरलाई ‘नौ लखा’ मन्दिर पनि भनिन्छ, अहिले त यसको लागत नौ अर्बभन्दा पनि बढी  होला । अयोध्या र जनकपुरको सम्बन्ध सीता र रामका रूपमा सम्पूर्ण हिन्दुका लागि आस्था र विश्वासको विषय बनिसकेको छ ।

भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर जनकपुरधामको भ्रमणमा आउँदा भन्नुभएको थियो कि सीता माताकै प्रेरणा र उत्साह बर्धनबाट भगवान् राम एक कुशल शासक र मर्यादा पुरुषोत्तम बन्न सके । जगत्जननी जानकीको स्थानलाई उनले उच्च मानेका थिए । प्रत्येक हिन्दुको मुखबाट प्रतिदिन प्रातःकालमा निस्किने पहिलो शब्द ‘जय सिया राम’ नै हुने गर्छ र सम्भवत मृत्यु कालमा पनि भन्न लगाइने शब्द ‘सीताराम’ नै हुने गर्दछ । ‘सीताराम’ को उच्चारण नामले पनि बैकुण्ठको बास हुन्छ भन्ने हाम्रो मान्यता रहिआएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी केही वर्षअघि पशुपति–काशी र जनकपुर–अयोध्या जोड्ने राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । मोदीकै पहलमा भगवान् श्रीराम र माता जानकीको जीवन गाथासित जोडिएका महत्वपूर्ण स्थलहरू नेपालको जनकपुर भारतको सीतामती, दरभङ्गा, बक्सर, चित्रकुट, नन्दीग्राम, महेन्द्र गिरी, जगदलपुर, भद्राचलम, हम्पी, नासिक, नागपुर र रामेश्वरमलाई समेत समेटेर रामायण सर्किटको निर्माण भइरहेको छ सम्भवत यसमा श्रीलङ्काका केही ठाउँलाई पनि समेटिने छ ।

माता जानकी तथा भगवान् श्रीरामको शुभ विवाहको पावन दिवस विवाहपञ्चमीको अवसरमा अयोध्याबाट जन्तीको रूपमा सहभागी हुन केही वर्षअघि जनकपुरधाम आउनुभएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर–अयोध्या तथा काठमाडौँ–बनारसबिच भगिनी सहर निर्माणसम्बन्धी सम्झौताले दुवै देशको पर्यटकीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गर्नुभएको थियो । भारत सरकारले जनकपुर र अयोध्याबिचको दुरी घटाउन रामजानकी राजमार्गको निर्माण गर्ने भएको छ । चार लेनको यो रामजानकी राजमार्ग निर्माण सुरु भएपछि जनकपुर, लखनऊ, अयोध्या र नयाँ दिल्लीबिचको दुरी कम हुने छ । विवाहपञ्चमी जनकपुर र अयोध्या मात्रै होइन नेपाल र भारतबिचको अभिन्न सम्बन्धको बलियो उदाहरण पनि हो ।

Author

श्रीमन नारायण