• ८ पुस २०८१, सोमबार

विवाहपञ्चमी महोत्सव : जानकीमाताको मटकोर विधि सम्पन्न

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर २० गते। मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव उल्लास पूर्वक मनाइँदैछ। 

महोत्सवको पाँचौँ दिन बिहीबार जगत जननीको मटकोर (वेदीका लागि माटो खन्ने) विधि सम्पन्न भएको छ भने शुक्रबार मैथिली परम्परा अनुसार दिउँसो स्वयंवर र राति वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिनुभयो। 

जानकी मन्दिरका पुजारी राम रोशन दासको नेतृत्वमा साधु सन्त सहितको सहभागितामा बाजागाजा सहितको लस्कर जनकपुरधामको पवित्र गंगासागर पोखरीमा पुगेर मटकोरको विधि सम्पन्न गरेको हो। सो अवसरमा मैथलानी महिलाहरूले विभिन्न प्रकारका वैवाहिक गीत प्रस्तुत गरेका थिए। 

जानकी माताको मटकोर विधि हेर्नका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन गंगासागरको डिलमा पुगेका थिए। वैवाहिक कार्यक्रममा सहभागी हुन अयोध्याबाट आएका जनतीको समेत जानकी माताको मटकोर कार्यक्रममा सहभागिता रहेको थियो। मटकोर विधिको क्रममा जनकपुरधामको गंगासागर वाट लगिने माटोले वेदी निमार्ण गरिने र सोही वेदीमा शुक्रबार वैवाहिक कार्यक्रम हुने बताइएको छ। सात दिनको कार्यक्रममा जानकीका पिता राजा जनकको भूमिका जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले निर्वाह गरिरहनुभएको छ। मर्यादा पुरुषोत्तम भगवान् रामका पिता दशरथको भूमिका राम जन्म भूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय निर्वाह गरिरहनुभएको छ।


शुक्रबार वैवाहिक कार्यक्रम हुने भएकोले भिडभाड अझै बढ्ने भन्दै स्थानीय प्रशासनले आजैदेखि जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको धनुषा प्रहरीले जनाएको छ।  

यता मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार अयोध्याबाट जनकपुरधाम आएका जन्तीको सम्मानमा दिवा भोजको आयोजना गर्नुभएको थियो। 

मुख्यमन्त्रीको निवासमा आयोजित दिवाभोजमा सहभागी भएका जन्तीलाई मुख्यमन्त्री सिंहसहित उद्योग पर्यटनमन्त्री सकिल मियाँ, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जैयसवाल सहितका मन्त्रीले कम्बल वितरण गर्नुभएको थियो।