प्युठान समाचारदाता
प्युठान, मङ्सिर २० गते । औषधी उपचारका लागि प्युठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधी अभावमा रित्तै फर्किने गरेका छन् । चालु आर्थिक वर्षमा औषधी खरिद हुन नसक्दा आयुर्वेद स्वास्थ्य सेवा केन्द्रमा औषधी अभाव भएको हो ।
आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले २३ प्रकारका औषधी निःशुल्क वितरण गर्ने गर्दछ । त्यसमध्ये बढी माग हुने अभिपत्तिकर चुर्ण र अश्रोगन्धा चुर्ण सेवा केन्द्रमा छैन । गत वर्ष खरिद गरेको औषधीले अहिलेसम्म काम चलाएको सेवा केन्द्रका प्रमुख शिशिर पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “तेस्रो चौमासिकमा औषधी खरिदको बजेट छ । जसले गर्दा औषधी खरिद गर्न सकिएको छैन, बजेट अगाडि सार्न माग गरिएको छ ।” वार्षिक छ लाख रुपियाँ मात्र औषधी खरिदका लागि रकम विनियोजन भएको समेत उहाँले बताउनुभयो ।
जिल्लामा सरुमारानी गाउँपालिकाबाहेक सबै आठ वटा स्थानीय तहमा आयुर्वेद सेवा विस्तार भएको छ । झिमरुक गाउँपालिका, गोमुखी गाउँपालिका, माण्डवी गाउँपालिका र ऐरावती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । प्युठान नगरपालिकामा विस्तारित आयुर्वेद सेवा केन्द्र रहेको पोख्रेलले जानकारी दिनुभयो ।