• ८ पुस २०८१, सोमबार

सम्झनामा नारायणगोपाल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २० गते । स्वारसम्राट् नारायणगोपालको ३४ औँ स्मृति दिवसमा बुधबार एक कार्यक्रम गरी उहाँको सम्झना गरिएको छ । सांस्कृतिक संस्थानमा विभिन्न कलाकारले उहाँको गीत गाउँदै उहाँप्रति श्रद्धाभाव प्रकट गर्नुभएको छ । संस्थानद्वारा आयोजित ‘सम्झनामा नारायणगोपाल साङ्गीतिक समपर्ण’ कार्यव्रक्रममा नयाँ र पुराना पुस्ताका स्रष्टाले उहाँको गीत गाउनुभएको थियो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, संस्थानका अध्यक्ष चन्द्रकुमार राई, महाप्रबन्धक किरण बाबु पुन, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलगायतले स्वरसम्राट् नारायणगोपालको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । महाप्रबन्धक पुनले नारायणगोपालको व्यक्तित्व र योगदानबारे प्रकाश पार्दै दिवङ्गत स्रष्टाको सम्झनामा संस्थानले नियमित कार्यक्रम गर्ने योजना सुनाउनुभएको थियो । 

कार्यक्रममा शिला विष्टले गाएको ‘केही मिठो बात गर’ बोलको गीतबाट कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा गायक तीर्थराज पोखरेलले ‘मैले पुण्य मन पराएँ’, दीपेन्द्र वज्राचार्यले ‘केही चोटले ज्ञानी हुन्छु’, राधिका भण्डारीले ‘पोखिएर घामको झुल्का’, विपिन घिमिरेले ‘जिन्दगी गोरेटो यो’, खुसी थुलुङ राईले ‘वीरताको चिनो’, विपिन घिमिरे र राधिका भण्डारीले ‘हे कान्छा ठट्टैमा यो’ र प्रशिक्षार्थीहरूले ‘जाग लम्क चम्क हे’ बोलको गीत गाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो । 

विसं १९९६ असोज १८ गते काठमाडौँको किलागलमा जन्मिनुभएका नारायणगोपालको २०४७ साल मङ्सिर १९ गते निधन भएको थियो । आफ्नो अद्वितीय गायनबाट सबैलाई आकर्षित गर्नुभएका नारायणगोपाललाई जनस्तरबाटै स्वरसम्राट्को उपाधि प्रदान गरिएको थियो ।