• २५ चैत २०८२, बुधबार

कमसल निर्माण : उप्कियो गौर–गंगापिपरा–फुलबरिया सडक

blog

निर्माण सम्पन्न नहुँदै भासिएको, भत्किएको, उप्किएको तथा चिरा परेको सडकखण्डमा मर्मतसम्भार गर्दै निर्माण कम्पनी। तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा
रौतहट, चैत २५ गते ।
रौतहटको गौर–गंगापिपरा–फुलबरिया सडक कालोपत्रे निर्माण कार्य सम्पन्न नहुँदै भत्किन थालेको छ। जिल्लाको महत्त्वपूर्ण योजनाका रूपमा रहेको गौर नगरपालिका–८ स्थित हनुमान मन्दिरदेखि माधवनारायण नगरपालिका–७ कुशवाहा चोकसम्मको १२ किलोमिटर सडकखण्डमध्ये कालोपत्रे गरिएको अधिकांश भागमा भत्किने, भासिने, उप्किने तथा ठाउँ–ठाउँमा चिरा पर्ने समस्या देखिएको छ।

निर्माण कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्रे गरेको पाँच महिना नबित्दै सडक भत्किएको, भासिएको, केही ठाउँमा उप्किएको र चिरा परेको स्थानीय दुर्गा भगवती–२ भलोहियाका रामचन्द्र दासले बताउनुभयो। निर्माण सम्पन्न नहुँदै ठाउँ–ठाउँमा सडक भत्किन थालेपछि गुणस्तरीय निर्माणका लागि आफूहरूले पटक–पटक माग गर्दै आएको दुर्गा भगवती–३ का वडा अध्यक्ष धर्मेन्द्रकुमार झाले बताउनुभयो।

जिल्लामा सबैभन्दा बढी ओहोरदोहोर हुने सडकका रूपमा रहेको गौर–गंगापिपरा सडक कमसल निर्माणका कारण कालोपत्रे गरेको केही दिनमै भत्किन सुरु भएको दुर्गा भगवती–४ का राजीव मिश्रले बताउनुभयो। उहाँले भन्नुभयो, “सधैँ धुलाम्मे र हिलाम्मे हुने सडक कालोपत्रे हुँदा खुसी भएका थियौँ, तर महिना दिनमै ठाउँ–ठाउँमा उप्किन र भासिन थाल्यो।”

उक्त सडकखण्ड कालोपत्रेका लागि साह निर्माण सेवा, मलङ्गवा (सर्लाही) सँग सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले २०७९ असार १७ गते सम्झौता गरेको थियो। १२ किलोमिटर सडक कालोपत्रेका लागि २० करोड ५० लाख ८६ हजार रुपियाँमा सम्झौता भए पनि निर्माण कम्पनीले भेरिएसनका लागि निवेदन दिएपछि कार्यालयले भेरिएसन स्वीकृत गरेको थियो। भेरिएसन सदरपछि उक्त सडकका लागि ठेकेदारले २३ करोड ५ लाख ४३ हजार रुपियाँ पाउने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

निर्माण कम्पनीले कालोपत्रे गरेको केही स्थानमा सडक भत्किएको र भासिएको कुरा स्वीकार गर्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी संजयकुमार यादवले निर्माण कम्पनीले सबै काम सम्पन्न गरी हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्न लगाइने बताउनुभयो। काम सम्पन्न भएको १३ महिनासम्म सडक भत्किने वा भासिने समस्या देखिएमा त्यसको सम्पूर्ण मर्मतसम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने उहाँको भनाइ छ।

कालोपत्रे गरिएको स्थानमध्ये पचरुखी चोकदेखि कछुअवा पुलसम्मका केही ठाउँमा मर्मत कार्य जारी रहेको उहाँले बताउनुभयो। निर्माणाधीन सडक भत्किएको र भासिएको स्थानमा अनुगमन गरी सम्झौताअनुसार गुणस्तरीय कालोपत्रे गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो।

वर्षौँदेखि साँघुरो र कच्ची सडक रहेको तथा हाल चौडा गरेर कालोपत्रे गरिएकाले केही स्थानमा उप्किने समस्या देखिएको उहाँको भनाइ छ।

१० मिटर चौडाइ रहेको उक्त सडकको हालसम्म भौतिक प्रगति ८५ प्रतिशत पुगेको सूचना अधिकारी यादवले बताउनुभयो। ठेक्काको म्याद २०८२ चैत मसान्तसम्म रहेको उहाँले जानकारी दिनुभयो।