• ८ पुस २०८१, सोमबार

सातौँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु

blog

प्रतियोगिताको तौलिहवास्थित बुद्ध पद्म माविको खेलमैदानमा उद्घाटन गरिँदै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलवस्तु), मङ्सिर १९ गते । जिल्लाको कपिलवस्तु नगरपालिकामा सातौँ नगर स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मङ्सिर २१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नगरभित्रका २२ वटा माध्यमिक विद्यालयको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, नगर उप प्रमुख सुनीता गुप्ता, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले संयुक्त रुपमा गर्नुभएको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख सुदीप पौडेलले प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पालिकाले विद्यालयस्तरको शिक्षा र खेलकुद सँगसँगै अगाडि बढाउन सबै एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

प्रजिअ अर्यालले मानसिक र शारीरिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने उहाँको विश्वास छ ।

प्रतियोगितामा भलिबल, दौड, एथलेटिक्स, कबड्डी, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल हुनेछन् । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, अनुशासनको लागि खेलकुद, पहिचानको लागि  खेलकुद भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, १२ वटै वडाका वडाध्यक्षहरु, शिक्षा तथा खेलकुद शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, खेल शिक्षकलगायतको सहभागिता थियो । सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।