• ८ पुस २०८१, सोमबार

उपनिर्वाचनको परिणाम निराशाजनक छैन : कावा अध्यक्ष पोखरेल

blog

सत्तारुढ दल नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल ।

काठमाडौं, मङ्सिर १९ गते । सत्तारुढ दल नेकपा (एमाले) का कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको परिणाम निराशाजनक नभएको तर त्यसको समीक्षा गर्ने बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने बताउनुभएको हो । उहाँले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा (एमाले) विजयी भएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको बताउनुभयो । 

आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने बताउनुभयो । उहाँले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहे पनि गत निर्वाचनको भन्दा प्रगति भएको दाबी गर्नुभयो । उहाँले अहिले पुराना राजनीतिक दलहरु आउटडेटेड भए भन्ने भाष्य खडा गरिए पनि जनमतबाट पुष्टि हुन नसकेको बताउनुभयो । 

जनताले अहिले पनि पुराना राजनीतिक दलहरुमा आशा र विश्वास कायमै राखेको उहाँको दाबी छ । उहाँले राष्ट्रिय राजनीतिमा पुराना दलहरुको भुमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौं । अरु पार्टीहरुले लामो समयदेखि जित्दै आएका ठाउँहरुमा पनि जितेका छौं । केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ । तर उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समीक्षा गरौंला, कहाँ के कमजोरी भयो भनेर । हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौंला । तर त्यस्तो निराशाजनक कुरा होइन । 

कीर्तिपुरमा २०७९ को निर्वाचनबाट आएको परिणामा पनि थाहा छँदैछ । त्यसबेला गठबन्धन पनि थिएन र पनि हामीले जित्न सकेका थिएनौं । हामीले उक्त निर्वाचनभन्दा अहिले प्रगति गरेका छौं । तर पनि परिणाम हाम्रो पक्षमा उत्साहजनक रहेन । त्यहाँ हाम्रा केही कमजोरी भएका हुनसक्छन् । हामीले पुनरवलोकन पनि गर्नुपर्ने हुन्छ । 

यता काठमाडौं महानगरको – १६ नम्बरको पनि अवस्था त्यही हो । महत्वपूर्ण वडा हो, तर त्यहाँ हामीले जित्न सकेनौं । त्यसमा भएका कमी, कमजोरीलाई हामी हेर्छौं र कसरी सम्हालिनुपर्छ त्यसैगरी अगाडि बढ्छौं । अहिले एउटा भाष्य खडा गरिँदैछ पुराना दल आउटडेटेड भए । त्यो जनताको मतबाट पुष्टि भएन । कायम छन् भन्यो ।’

उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरुमा थप व्यवस्थित ढङ्गको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उहाँको भनाइ छ ।