• ४ जेठ २०८१, शुक्रबार

महोत्तरीमा थप दुई पालिका जसपा र एकमा लोसपा विजय

blog

एकडारा गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष दीपकुमार मण्डल । तस्विर – नागेन्द्रकुमार कण

नगेन्द्र कुमार कर्ण

महोत्तरी, जेठ ५ गते । महोत्तरी जिल्लामा रहेको १५ पालिकाहरु मध्ये अहिलेसम्म पाँच पालिकाको परिणाम आएको छ । वुधबार साँझसम्म तीन पालिकाको परिणाम प्राप्त भएको थियो भने बिहीबार थप दुई पालिकाको मतगणनाको परिणाम प्राप्त भएको छ ।

जिल्लाको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका अध्यक्ष र उपाध्यक्षले बाजी मारेका छन् । जसपाको तर्फबाट पिपरा गाउँपालिकाको अध्यक्षमा रामजानकी यादवले ५५५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अमित पाण्डेयले २९७७ मत पाउनुभयो । त्यसैगरी, उपाध्यक्षमा जसपाका बन्दना पाण्डेयले ५०४० मत ल्याएर विजयी हुनुभयो । उहाँ लोसपाका नेतृ रविता कुमारी २६२३ मतलाई दुई गुणा मतले पराजित गर्दै विजयी हुनुभएको हो । 

पिपरा गाउँपालिकामा वडा नं. १,२,३,४ र ५ मा जसपाले वडाध्यक्षमा जित हासिल गरेको छ भने वडा नं. ६ मा लोसपा तथा वडा नं. ७ मा नेपाली काँग्रेसले वडाध्यक्षमा बाजी मारेको छ ।

त्यसैगर,ी जिल्लाको एकडारा गाउँपालिकामा पनि लोसपालाई हराउँदै जसपाले अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । जसपाको तर्फबाट अध्यक्षका उम्मेदवार दीपनारायण मण्डलले ४४९९ तथा उपाध्यक्ष मजहवी खातुनले ४६७१ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्ष मजहवी दोश्रो कार्यकालको लागि उपाध्यक्षमा विजयी भएकी हुन् ।

एकडारामा निवर्तमान अध्यक्ष लोसपाका नेता रामछविला साहले २४११ तथा उपाध्यक्षमा सोही पार्टीका रोकसाना खातुनले २०७६ मत ल्याउनुभएको हो । एकडारा गाउँपालिकाको वडानंं.१,२,३ र ६ मा जसपा तथा वडानं. ४ र ५ मा लोसपाको वडाध्यक्ष विजयी भएका हुन् ।

बुधबार जिल्लाको तीन पालिकाको परिणाम सार्वजनिक भएको थियो जसमा रामगोपालपुर, मनरासिश्वा नगरपालिका र महोत्तरी गाउँपालिका रहेका छन् ।