• १० पुस २०८१, बुधबार

कर्जा प्रवाह सुस्त आधार दर पनि घट्दो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १९ गते । निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाहको गति सुस्त रहँदा वाणिज्य बैङ्कको औसत आधार दर पनि लगातार घट्दो क्रममा रहेको छ । एक वर्षभन्दा बढी समयदेखि बैङ्कले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । जसका कारण लागत कम भई आधार दरमा पनि कमी आइरहेको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कको औसत आधार दर पाँच महिनामा डेढ प्रतिशतले घटेको छ । गत असारमा ८.८ प्रतिशत रहेको बैङ्कको आधार दर मङ्सिरमा ७.३२ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा यस्तो औसत आधारदर ७.४४ प्रतिशत रहेको थियो ।

यो अवधिमा पाँच वटा वाणिज्य बैङ्कको आधार दर सात प्रतिशतभन्दा तल छ । स्ट्यान्डर्ड चार्टर्ड, नबिल, एभरेस्ट, राष्ट्रिय वाणिज्य र नेपाल बैङ्कको आधार दर सात प्रतिशतभन्दा तल आएको हो । समीक्षा अवधिमा सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैङ्कको रहेको छ । यसको औसत आधार दर जम्मा ५.५३ प्रतिशत निर्धारण भएको छ ।

मङ्सिरमा राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर सबैभन्दा कम ६.०१ प्रतिशत, नेपाल बैङ्कको ६.६२, एभरेस्ट बैङ्कको ६.४९ प्रतिशत र नबिल बैङ्कको ६.७६ प्रतिशत छ । एनआइसी एसिया र हिमालय बैङ्कको आधार दर आठ प्रतिशतमाथि छ । बाँकी सबै बैङ्कको आधार दर आठ प्रतिशतभन्दा तल छ ।

बैङ्कले आधार दरमा अधिकतम पाँच प्रतिशतसम्म प्रिमियम थपेर दिँदा कर्जाको ब्याजदर पनि ह्वात्तै घटेको छ तर पनि कर्जाको माग बढ्न सकेको छैन ।

नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय उद्योगी व्यवसायीमा आत्मविश्वास बढ्न नसकेर कर्जाको माग आउन नसकेको बताउनुहुन्छ । कर्जा प्रवाह बैङ्क तथा वित्तीय संस्थाले चाहेर मात्र नभई उद्योगी व्यवसायी कर्जा लिन तयार हुनुपर्ने उहाँको भनाइ छ । 

बैङ्कहरूमा निक्षेपको ब्याजदर निरन्तर घटाउँदा निक्षेपकर्तालाई अन्याय भएको राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा । कर्जा प्रवाह बढ्न नसक्नुको कारण ब्याजदर मात्रै नभएको अहिले प्रस्ट भएको भन्दै उहाँले निक्षेपको ब्याजदर घटाएर कर्जाको ब्याजदर घटाउनु समाधान नभएको बताउनुभयो ।

सर्वसाधारणले जम्मा पारेको निक्षेपको ब्याजदर घटाइदिनु अत्याचार भएको उहाँले बताउनुभयो तर निक्षेपकर्तालाई निचोरेर लाभ लिनका लागि लगानी बढ्नुपर्ने, रोजगारी बढ्नुपर्ने, उत्पादन बढ्नुपर्ने, निर्यात बढ्नुपर्नेमा त्यस्तो नहुँदा पुँजी पलायनको खतरा देखिएको उहाँको भनाइ छ ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार गत कात्तिकमा वाणिज्य बैङ्कको कुल निक्षेप ५९ खर्ब तीन अर्ब ५७ करोड रुपियाँ रहेको छ भने कर्जा प्रवाह ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपियाँ रहेको छ ।

कात्तिकमा बैङ्कको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) औसत ७७.०५ प्रतिशत छ । सङ्घका अनुसार हाल बैङ्कसँग सात खर्ब ११ अर्ब ३८ करोड रुपियाँ लगानीयोग्य रकम रहेको छ । बैङ्कहरूसँग प्रशस्तै लगानीयोग्य रकम हुँदा सिडी रेसियो पनि घट्दो नै छ । हाल बैङ्क तथा वित्तीय संस्थाले सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । हाल सबै बैङ्कहरू सहज अवस्थामा कर्जा प्रवाह गर्ने सक्ने अवस्थामा भए पनि कर्जाको माग बढ्न सकेको छैन ।