सन्तोष दहित
दाङ, मंसिर १२ गते । छात्रावासमा बसेर अध्ययनरत मुक्त कम्लरी विद्यार्थीलाई साइकल, न्यानो कपडा र नगद सहयोग गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आर्थिक सहयोगमा कञ्चनपुरको छात्रावास ५ जना र कैलालीको छात्रावासमा रहेका १७ जना मुक्त कम्लरी छात्राहरूलाई उक्त सहयोग प्रदान गरिएको हो ।
कार्यक्रमका राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष सुनी लामा र कोषाध्यक्ष शुसिला गोलेले मुक्त कम्लरी विद्यार्थीलाई छात्रवृत्तिका रूपमा सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा नगद, लेडिज साइकल र न्यानो ज्याकेट सहित कुल १७ जना छात्रालाई वितरण गरिएको मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीका अनुसार उक्त सहयोगले छात्रावासमा बस्ने विद्यार्थीलाई विद्यालय आउजाउमा सहज हुने र जाडो मौसममा न्यानो कपडाले राहत पुग्ने बताउनुभयो । उहाँले मुक्त कम्लरीका लागि शिक्षा, सिप र आत्मनिर्भर जीवनका अवसर सुनिश्चित गर्न निरन्तर प्रयास भइरहेकाले यस्ता सहयोग कार्यक्रमले विद्यार्थीको हौसला बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय सचिव लक्ष्मी राना, केन्द्रीय सदस्य शान्ति चौधरी, कञ्चनपुर जिल्ला अध्यक्ष सीता डँगौरा तथा विद्यालयका शिक्षक एवं छात्रावास वार्डेन दुर्गा डँगौराको समेत उपस्थिति थियो ।
सो अवसरमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा छात्रावासमा बस्ने मुक्त कम्लरीसँग अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले महिलामाथि हुने हिंसा अन्त्य गर्न शिक्षा, सचेतना र आत्मनिर्भरता अत्यावश्यक रहेको बताएका थिए ।