राममणि दाहाल
मकवानपुर, मङ्सिर १२ गते । मकवानपुर प्रहरीले बिलभन्दा फरक सामानसहित वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ ।
छ लाख अठासी हजार रुपियाँ बराबरको बिलभन्दा फरक सामानहरू लोड भएको ना.८ ख। २७१९ नं. को ट्रक शुक्रबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सडकमा वीरगञ्ज तर्फबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा छ लाख ८८ हजार रुपियाँ बराबरको बिलभन्दा फरक सामानहरू रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त ट्रकका चालक हेटौँडा वडा नं.९ का वर्ष २४ को निशान बि.क.लाई नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।
यस्तै यसअघि प्रहरीले ३० लाख बराबरको बिलभन्दा बढी सामानहरू लोड भएको ट्रक नियन्त्रणमा लिएको थियो ।
प्रहरी चौकी रातोमाटेको प्रहरी टोलीले रातोमाटे चेकपोष्ट अगाडि जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना.३ ख. ५५७६ नं.को ट्रकमा बिलभन्दा फरक सामानहरू भएको पाइएपछि नियन्त्रणमा लिएको थियो ।
ट्रक चालक पर्सा जिल्लाका वर्ष ५२ का झलेन्द्र राय थारु र ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीको भनाई छ।