ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १२ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरको माथिल्लो खण्डमा पर्ने मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मालढुङ्गा–बेनी खण्डमा सडक कालोपत्र गर्ने योजना सम्पन्न हुनथालेपछि स्थानीयहरु खुसी भएका छन् ।
अहिले मालढुङ्गा–बेनी खण्डमा ९ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बर्षौसम्म हिउँदमा धुलो र बर्खायाममा हिलोका कारण सास्ती भोगेका स्थानीयहरु सडक स्तरोन्नतिसहित कालोपत्र योजना सम्पन्न हुन थालेपछि खुसी भएको मिलनचोकका स्थानीय भिमप्रसाद आचार्यले बताउनुभयो ।
यो खण्डको सडक कच्ची र जिर्ण थियो । कच्ची सडकका कारण पर्वतको जलजजला, म्याग्दी र मुस्ताङका स्थानीय तथा मुस्ताङको भ्रमणमा जाने पर्यटकले सास्ती भोग्दै आएका थिए ।
कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पाँच वर्षअघि सडक स्तरोन्नतिसहित आक्सफाल्ट प्रविधिको कालोपत्र गर्न ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण तीनवर्ष ढिला गरेर योजना सम्पन्न हुन लागेको हो ।
कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईले जलजला गाउँपालिका –८ वडाको लस्तीदेखि पर्वत बेनीसम्मको सडक कालोपत्र गर्ने काम अन्तिमचरणमा पुगेको बताउनुभयो । मालढुङ्गादेखि फर्सेसम्मको करिब ६ किलोमिटर सडक गत वर्ष कालोपत्र र ढलान गरिएको थियो ।
कूल १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित र पर्वत बेनीको बजार क्षेत्रमा स्थानीयहरुले अवरोध गरेपछि १ किलोमिटर सडकलाई ठेक्काबाट हटाइएको छ । योजनामा दुई किलोमिटर २०० मिटर ढलान भएको छ । सडक स्तरोन्नतिसहित कालोपत्र गर्न आयोजनाले एपेक्स–खड्का–कृष्ण जेभीसँग विसं २०७७ चैतमा ५२ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।