• ७ पुस २०८१, आइतबार

अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्दै आविष्कार केन्द्र

blog

काठमाडौँ, मङ्सिर १८ गते । महावीर पुन नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले वीर अस्पताल र कान्ति बाल अस्पतालका १२ वटा उपकरण मर्मत गरेको छ । वीरमा बिग्रिएका २८४ वटा उपकरणमध्ये छ वटा र कान्ति बाल अस्पतालमा बिग्रिएका १५८ उपकरणमध्ये छ वटा उपकरण केन्द्रले मर्मत गरेको हो । 

आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किराँतीले अस्पतालमा बर्षौंदेखि बिग्रिएर अलपत्र परेका उपकरण पहिचान गरेर मर्मत गर्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वीर अस्पतालका सी–आर्म मेसिन एक र भेन्टिलेटर पाँच वटा मर्मत भएका छन् । कान्ति बाल अस्पतालका इन्फ्यान्ट रेडियन्ट वार्मर एक, पेसेन्ट मनिटर दुई र इन्फ्युजन पम्प तीन वटा बनाइसकिएको छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आविष्कार केन्द्रबिच गत भदौ ५ गते सम्झौता भएपछि पहिलो चरणमा वीर अस्पताल र कान्ति बाल अस्पतालका बिग्रिएका उपकरण मर्मत हुन लागेको हो । दोस्रो चरणमा भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र, नारायणी अस्पताल, मनमोहन कार्डियोलोजी, पाटन अस्पताललगायत अस्पतालमा सम्झौता गरेर मर्मत गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो । गङ्गालाल अस्पतालको उपकरण भने आविष्कार केन्द्रले पहिलेदेखि नै मर्मत गर्दै आएको थियो । 

अस्पतालमा बिग्रिएका उपकरण बनाउन २० जना इन्जिनियर खटिएर काम गरिरहेको इन्जिनियर किराँतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिलो चरणमा अस्पतालका उपकरण कस्तो अवस्थामा छन् ? पत्ता लगाउँछौँ । अनि मर्मतसम्भार गरेर काम लाग्ने भए मर्मत गर्छौं । विदेशबाट सामान ल्याएर मर्मत गर्नुपर्ने भएमा, त्यो पनि गर्छौं ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले सम्झौताबमोजिम आविष्कार केन्द्रले अस्पतालमा बिग्रिएका उपकरण बनाउने काम गरिरहेको बताउनुभयो तर जति द्रुत गतिमा उपकरण मर्मतसम्भार हुनुपर्ने हो, त्यसबमोजिम हुन नसकेको उहाँले बताउनुभयो । “अस्पतालमा जे जति बिग्रिएर थन्किएका उपकरण छन्, सूची तयार गर्न भनेका छौँ । सामान्य खर्चमा मर्मत गरेर बन्ने भए बनाइदिने, सामान किनेर बनाउन मिल्ने भए सम्बन्धित अस्पतालबाट बजेट व्यवस्था गरेर बनाउने र बनाउनै नमिल्ने भएमा त्यसको समेत सूची तयार गर्ने भनिएको छ,” उहाँले भन्नुभयो, “यस कार्यमा मन्त्रालयले सहजीकरण गरिरहेको छ ।” 

प्रवक्ता बुढाथोकीले उपकरण बनाउँदा लागेको खर्च हरेक अस्पतालले मर्मतसम्भार गर्न बजेट नै विनियोजन गरेकाले त्यसैबाट भुक्तानी हुने बताउनुभयो । यदि अस्पताल आफैँले मर्मतसम्भार गर्दा धेरै बजेट लाग्ने र अस्पतालमा अति आवश्यक पनि भएको उपकरणका सम्बन्धमा मन्त्रालयसँग बजेट माग गर्न सक्ने उहाँको भनाइ छ । 

सरकारी अस्पतालमा महँगा स्वास्थ्य उपकरण मर्मत नहुँदा प्रयोगविहीन हुने अनि नयाँ उपकरण नहुँदा बिरामीहरू निजी संस्थामा महँगो शुल्क तिरेर परीक्षण, उपचार गराउनुपर्ने बाध्यतामा छन् । यो अवस्था हटाउन आविष्कार केन्द्रका पुनले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग सरकारी अस्पतालका उपकरण मर्मतका लागि सघाउन आग्रह गर्नुभएको थियो । त्यसपछि मन्त्रालयले पुन नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेर मर्मत गर्ने जिम्मा दिएको थियो ।  

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।