• ८ पुस २०८१, सोमबार

रुकुम पश्चिमको सानीभेरीमा ५ मा मतगणना सुरु

blog

सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदको मतगणना हुँदै। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १६ गते। रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थलबाट सबै मतपेटिका समयमै ल्याएर मतगणना सुरु गरेको जनाएको छ। 

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको एक मतदानस्थलमा दुई केन्द्र बनाएर मतदान भएको थियो। घापागारबाट लाखुरीबोटमा रहेको वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेको र त्यसपछि मतगणना सुरु गरिएको सहायक निर्वाचन अधिकृत गोविन्दप्रसाद कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार दुवै मतदान केन्द्रको मतपेटिका एकै साथ पारेर मतगणना सुरु गरिएको छ। 

वडा नम्बर ५ मा भएको उपनिर्वाचनमा ७९.९२ प्रतिशत खसेको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल एक हजार ४३४ मतदाता मध्य एक हजार १४६ जनाको मत खसेको हो। ६०६ जना महिला र ५०४ जना पुरुषले मतदान गरेको सहायक मतदान अधिकृत कोइरालाले जानकारी दिनुभयो। 

यस वडामा रिक्त वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवार बिच प्रतिस्पर्धा रहेको छ। नेपाली कांग्रेसका तर्फबाट मोतीराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ। आजै मतपरिणाम सार्वजनिक हुने बताइएको छ।