• ८ पुस २०८१, सोमबार

मालुवातरा मतदान केन्द्रमा ७ जना क्रियापुत्रीले गरे मतदान

blog

मालुवातरा मतदान केन्द्रबाट मदतान गरी फर्किंदै क्रियापुत्री । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, मङ्सिर १६ गते । नलगाड नगरापालिकाको ८ वडामा सात जना क्रियापुत्रीले मतदान गरेका छन् । आमाबुबाको मृत्युपछि शोकमा परेका उनीहरुले आफ्नो उम्मेदवारलाई विजयी बनाउन नलगाड नगरपालिका ८ गणेश प्राथमिक विद्यालय मालुवातरा मतदान केन्द्रमै पुगेर मताधिकारको प्रयोग गरेका हुन् । 

नलगाड नगरपालिका ८ लुपानाका बुवा हरिमान खत्रीको काजक्रियामा बसेका छोराहरु अते खत्री, गोम, खिमे, टीकाराम बालबहादुर खत्रीका पाँच भाइ आमाको काजक्रियामा बसेका मैदेका महेन्द्र सिंह, मुकुन्द सिंहसहित सात जना क्रियापुत्रीले मतदान गर्नुभएको हो । 

एक भोटले पनि आफ्नो उमेदवारले हारे पछुतो लाग्ने भएकाले आमा बुवा गुमाएको पीडा भए पनि मतदान गर्न आएको आमाको काजक्रियामा बसेका महेन्द्र सिंहले बताउनुभयो । 

यस्तै, बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि वडा १ मा भने करिब दुई घण्टापछि मात्रै मतादान सुरु भएको हो । नलगाड नगरपालिकाको १ मा बिहान केही समयपछि मतदान प्रक्रिया सुरु भए पनि सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै, उपनिर्वाचनमा आफ्नो उमेदवारलाई विजय गराउन नेता, कार्यकर्ता तथा शुभचिन्तकले मतदातालाई बिहानैदेखि मतदानस्थलमा ओसारपसार गरिरहेका छन् । त्रिभुवन माध्यमिक विद्यालय दल्लीका क र ख केन्द्र, नलगाड नगरपालिका ८, गणेश प्राथमिक विद्यालय र मालुवातरा मतदान केन्द्रमा मतदानस्थल छ । 

मुख्य निर्वाचन कार्यालयका सहायक अधिकृत धर्मबहादुर बुढाका अनुसार बिहान चिसोका कारण मतदाता नआए पनि १० बजेबाट आउने क्रम जारी रहेको बताउनुभयो । मतदान प्रक्रियालाई धाँधलीरहित बनाउन नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेनाका तिनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । साँझ पाँच बजेसम्म मतदाताले डर त्रास र भयरहित तरिकाले मतदान गर्न पाउनका लागि सुरक्षा व्यवस्था कडा पारिएको उहाँको भनाइ छ । 

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीनकुमार कठायतका अनुसार नलगाडन नगरपालिकामा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मत खसेको बताउनुभयो । 

नलगाड नगरपालिकाका उपप्रमुख सरिता सि‌हको गत वर्ष कात्तिक १७ गते भूकम्पम परी मृत्यु भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन थालेको छ ।