• ८ पुस २०८१, सोमबार

कालीकोटको राँचुलिमा शान्तिपूर्ण मतदान

blog

राँचुलिमा शान्तिपूर्ण तरिकाले मतदान हुँदै । तस्विर : रमेशकुमार बाेगटी

रमेशकुमार बाेगटी 

कालीकोट, मङ्सिर १६ गते । उपनिर्वाचन अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलिमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । राँचुलि–४ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो । 

जम्मा ६ सय नौ मत रहेको राँचुलि–४ मा अहिलेसम्म तीन सय ५१ मत खसेको निर्वाचन अधिकृत हरिषचन्द्र गौतमले जानकारी दिनुभयो । उपनिर्वाचन एकदमै शान्तिपूर्ण र नमुना तरिकाले चलिरहेको बताउनुभयो । उहाँका अनुसार निर्वाचनका लागि एक जना मतदान अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगी मतदान केन्द्रमा खटिएका छन् । 

जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले तिलागुफा–४ मा एक मतदान केन्द्र र ६०९ मतदाता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार वडाध्यक्ष पदमा नेपाली कांग्रेका पैलबहादुर शाही,  नेकपा (एमाले) का ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बम, नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।  

उपनिर्वाचनका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । वडा–४ का तत्कालीन वडाध्यक्ष परबहादुर शाही २०७९ साल असोज २३ गते पहिरोमा परेर बेपत्ता हुनुभएको छ ।