• ९ पुस २०८१, मङ्गलबार

अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण

blog

अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिदै । तस्विरः स्वास्थ्य मन्त्रालयको सचिवालय

अनिल पराजुली

हेटौँडा, मङ्सिर १५ गते । धादिङको विकट रुबीभ्याली गाउँपालिकामा अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले रुबीभ्याली गाउँपालिकालाई एक थान ग्रामीण अल्ट्रासाउन्ड मेसिन र दुई थान अक्सिजन कन्सल्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य सेवा दुर्गमदेखि सुगम क्षेत्रमा पुगाउने बताउनुभयो । स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको भन्दै यसको बिस्तारमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

त्यस्तै, स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश, जनस्वास्थ्य कार्यालय धादिङको आयोजना र रुबीभ्याली गाउँपालिकाको व्यवस्थापन तथा समन्वयमा धादिङको विकट  रुबीभ्याली गाउँपालिकामा तीन दिने स्वास्थ्य शिविर भएको छ । शिविरमा विभिन्न रोगका विशेषज्ञसहितको डाक्टरद्वारा चेकजाँच तथा अन्य सेवाहरू प्रदान गरिएको थियो । 

शिविरमा हाडजोर्नी तथा नशारोग, स्त्रीरोगसम्बन्धी, भिडियो एक्स-रे सेवा, दन्त चिकित्सा सेव, नेत्र चिकित्सकद्वारा आँखा परीक्षण तथा तथा उपचार सेवा, बालरोग उपचार तथा व्यवस्थापन, जनरल फिजिसियनद्वारा परीक्षण तथा उपचार सेवा, आयुर्वेद सेवा, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने, स्वास्थ्य आमा समूहमा पोषण मुख स्वास्थ्य तथा हातको सरसफाइबारे अन्तरक्रिया कार्यक्रम, विद्यालयको विद्यार्थीको पोषण मुखको सरसफाइ तथा हात धुने तरिकाबारे सिकाइ–अन्तरक्रिया लगायतका सेवाहरू प्रदान गरिएको छ ।

शिविरमा ७३० जनाले उपचारात्मक सेवा पाउनुभएको थियो । सेर्तुङ र तिप्लिङ गरी १२५ जना आमालाई स्वास्थ्य शिक्षा दिइएको थियो । त्यस्तै, १०५ जना विद्यार्थीलाई विभिन्न विषयमा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।

रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा  प्रदेश सभा सदस्य डम्बर तामाङ, रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्की, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका चिकित्सक महाशाखाका प्रमुख डा. खगेश्वर गेलाल, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारी लगायतको सहभागिता थियो ।