गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर १३ गते । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गर्न लागएको ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा कार्यक्रमको तयारी पूरा भएको छ ।
नेपालगन्जको राँझास्थित श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा नेपाली सेना र बाँके राष्ट्रिय निकुञ्ज कार्यालय बाँकेले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्धन गर्नका लागि संयुक्त रुपमा आयोजना गर्न लागेको ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्राको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ ।
श्री नम्बर ४ बाहिनी अड्डामा बिहीबार आयेजना गरिएको पत्रकार भेटघाटमार्फत् ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले नेपालकै कान्छो निकुञ्जका रुपमा स्थापित बाँके निकुञ्जको पर्यापर्यटन प्रवर्धन गर्नका लागि साइकल यात्राको आयोजना गरिएको बताउनुभयो ।
“यो निकुञ्ज बाघको वासस्थान मात्र नभएर अति दुर्लभ र संरक्षित जनावर चौकाको संरक्षणका लागि पनि हो, यो निकुञ्जलाई चौका संरक्षित क्षेत्र भनेर पनि चिनाउनु छ, त्यसका लागि यो कार्यक्रम महत्वपूर्ण कडी हो ।” कँडेलले भन्नुभयो, “जनावरहरुको संरक्षण मात्र नभएर यहाँका स्थानीयको पर्यटनमार्फत् आयआर्जनमा टेवा पुराएर उहाँहरुको जीवनस्तरमा वृद्धि गरिने पनि हामीले लक्ष्य लिएका छौँ ।”
श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत् व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवर्धन गर्ने उद्देश्यले ‘टुर दि बाँके नेशनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
बाँके साइकल संघका अध्यक्ष गगन थापाले साइकल संघको समन्वयमा साइकल यात्रा हुन लागेको बताउनुभयो । उहाँले ‘टुर दि बाँके नेशनल पार्क’मा महिलासमेत गरी ९० जना साइक्लिष्टको सहभागीता रहने पक्का भइसकेको बताउनुभयो । साइकल यात्रामा बाँके, बर्दिया, दाङ, सुर्खेत तथा बुटवलका साइक्लिष्टहरु सहभागी हुने जानकारी दिनुभयो ।
सहआयोजक एज फिटनेस क्लबका अध्यक्ष दिनेश थापाले निकुञ्ज प्रशासन र नेपाली सेनाले मात्र गरेको प्रयास अपुग हुने भन्दै बाँके निकुञ्जलाई व्यापकता दिनका लागि स्थानीय संघसंस्थाको सहभागिता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले स्थानीय र नीजि संघसंस्थाको समन्वयमा मात्र निकुञ्जको समग्र विकास हुने बताउनुभयो ।