• १३ मंसिर २०८१, बिहिबार

आँधीखोला र फेदिखोलाबासीलाई मोबाइलबाटै जलवायुको अग्रिम खबर

blog

जलवायु मापन केन्द्र स्थापनाका लागि सोलार सेट वितरण गरिँदै । तस्बिरः गोरखापत्र

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर १३ गते । स्याङ्जाको आँधीखोला र फेदिखोला गाउँपालिकाका बासिन्दाले जलवायुको बारेमा मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन् । प्रदेशमै पहिलो पटक जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमको बारेमा मोबाइलबाटै खबर पाउने भए हुन् । 

आक्स नेपालले युएसआडीको जल जङ्गल परियोजना मार्फत दुई पालिकामा जलवायु मापन यन्त्र राखेर यहाँ केन्द्र स्थापना गरेको हो । आँधीखोलाको पालिकाको चौरमा मापन यन्त्र राखिएको छ भने पालिका भवनमा डिस्प्ले राखिएको छ भने फेदिखोलामा सिद्धार्थ माविमा यन्त्र र भवनमा डिस्प्ले राखिएको हो । 

सोलरबाट मापन यन्त्रमा जोडिएको ब्याट्री चार्ज हुने र ब्याट्रीको माध्यमबाट यन्त्र चल्नेछ भने सोही यन्त्रबाट डिस्प्ले चल्ने र मौसमको जानकारी पाइने छ । डिस्प्लेमा आएको सूचना गाउँपालिकाको कर्मचारीको माध्यमबाट पालिका भित्रका हरेक नागरिकको मोबाइलमा सन्देश पुग्ने आँधीखोला गाउँ पालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । 

उहाँले मौसमको सन्देश पालिकाको सूचना अधिकृतको मोबाइलमा जाने र उसको मोबाइलमा रेकर्ड भएको सन्देश सबै पालिकावासी पठाउने बताउनभयो । एक हप्तासम्मको सूचना मापन यन्त्रमार्फत पूर्व अनुमान हुने र पालिकावासीको मोबाइलमा पुग्ने बताउँदै पौडेलले यस यन्त्रले पालिकावासीलाई ठुलो राहत पुग्ने बताउनुभयो । 

यन्त्रमार्फत तापक्रम, हावाको गति, वर्षा लगायतका बारेमा थाहा पाउने र पालिकाले पालिकावासीलाई पठाउने छ । मौसम मापन यन्त्र गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव तोयनाथ पौडेलले दुवै पालिकालाई हस्तान्तरण गर्नु भएको हो । समयमै मौसमको सूचना तथा जानकारी प्राप्त गर्दा स्थानीयवासीलाई ठुलो फाइदा पुग्ने सचिव पौडेलले बताउनुभयो । 

मापन यन्त्र आक्स नेपालले सात-सात लाख रुपियाँमा खरिद गरेर दुई पालिकालाई दिएको आक्सका अध्यक्ष रुकुमदत्त पौडेलले बताउनुभयो । पोखरा नजिक तथा हिमाल देखिने पालिका भएको र आफूले काम गरेको पालिका भएकाले दुई पालिका रोजेको पौडेलले बताउनुभयो । 

पहिलो चरणमा आँधीखोलाले वडा नं –४ र फेदिखोलाले वडा नं –४ र ५ का बासिन्दाको मोबाइल नम्बर सङ्कलन गरेको छ भने सो सकेसँगै सबै वडामा क्रमशः पालिकावासीको नम्बर सङ्कलन गरेर मौसमको सन्देश पटाइनेछ । 

मापन यन्त्र राखिएसँगै यहाँका कृषक, विद्यार्थी, वृद्ध लगायतलाई मुख्य राहत मिल्ने देखिएको छ ।