एउटी रेफ्रीले गरेका पटक पटकका गलत निर्णय र त्यसले उब्जेको परिस्थितिबीच पनि नेपाली महिला फुटबल टिम अन्तिम एक मिनेटमा समालिँदा बिदाइको सँघारबाट उम्केको छ । प्रसङ्ग हो काठमाडौँमा भएको सातौँ संस्करणको महिला साफ च्याम्पियनसिपको । उक्त प्रतियोगिताको सेमिफाइनलमा कात्तिक ११ गते अप्रत्यासित खेल प्रदर्शन भयो ।
सामान्यतया निर्धारित समयको अन्तर्राष्ट्रियस्तरको फुटबल खेलको समय ९० मिनेटको हुन्छ तर त्यो दिन रातिको फुटबलको निर्धारित समयको खेल सकिन नै साढे तीन घण्टा लाग्यो । साँझ साढे ६ बजे सुरु भएको खेल राति १० बजे मात्र सकिएको थियो ।
नेपाल र भारतबीच सेमिफाइनल खेल भइरहेको थियो । रेफ्री थिइन् सन् २०१७ देखि फिफा रेफ्रीको लाइसेन्स पाएकी भुटानकी पहिलो फिफा रेफ्री ओम चोकी । उनको हाउभाउ सुरुवातदेखि नै नेपाली टिमप्रति वैरभाव राखेको जस्तो देखिन्थ्यो । खेलको ३६ औँ मिनेटमा एउटा विवाद भयो । नेपालले पेनाल्टीको अवसर पाउन चर्को आवाज उठायो तर पाएन ।
नेपाली खेलाडीको प्रहारमा भारतीय खेलाडीले डी बक्सभित्र हातले बल रोकेकी थिइन् । नेपाली टिमले पेनाल्टीको अपिल गरे पनि रेफ्री चोकीले बेवास्ता गरिन् । नेपालका लागि प्रतियोगितामा सात गोल गरेकी रेखा पौडेललाई उनले पूर्वाद्र्धमा उल्टै पहेँलो कार्ड देखाइदिइन् ।
नेपाली महिला फुटबलको इतिहासमा पहिलो पटक १७ हजारभन्दा बढी दर्शक दशरथ रङ्गशालामा उपस्थित थिए । रेफ्रीको विवादास्पद निर्णय उत्तराद्र्धमा जारी रह्यो । खेलको ५१ औँ मिनेटमा रेफ्री चोकीले रेखालाई नै दोस्रो पटक पहेँलो कार्ड देखाएर मैदानबाट बाहिर पठाइन् । रेखाले भारतीय डिफेन्डरलाई हिर्काएको भन्दै रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाएकी थिइन् । जबकि रेखाको खुट्टाले भारतीय खेलाडीभन्दा पहिले बल छोएको स्पष्ट नै देखिन्थ्यो ।
१० खेलाडीमा सीमित रहेर नेपालले खेल्नुपर्ने भयो । निर्णयमा असन्तुष्ट दर्शक उपद्रो गर्न थाले । जसले गर्दा खेल १२ मिनेट रोकियो । त्यसपछि खेल अगाडि बढेको आठ मिनेटमै भारतले गोल ग¥यो । भारतको गोललगत्तै रेफ्रीले खेल सुरु गर्न सिट्टी बजाए । सावित्रा भण्डारी र प्रीति राईले बल अगाडि बढाएर भारतको गोलपोस्टनजिक पु¥याए । प्रीतिले सो अवसरमा गोल गरिन् । रेफ्री चोकीले गोल भएको सङ्केत पनि गरिन् तर जब भारतीय टिमले विरोध ग¥यो तब उनले गोल अस्वीकार गरिन् ।
खासमा भारतले गोल गरेपछि खुसियाली मनाउँदै गर्दा प्रशिक्षक मैदानमा आएर खुसियाली मनाइरहेका थिए । सो समयमा रेफ्रीले पुनः खेल सुरु गर्न सिट्टी बजाइन् । भारतीय खेलाडीहरू खेल सुरु भएपछि बल रोक्न दौडिए । विपक्षी गोलकिपर गोलपोस्टमा पुग्नै सकिनन् र गोल भयो । यहाँ नेर गल्ती थियो त रेफ्रीको तर उनले नेपाललाई गोल दिइनन् ।
भएको गोलसमेत नदिँदा नेपाली खेलाडीले खेल्न मानेनन् । रेफ्रीले गल्ती पनि स्वीकार गरिनन् । म्याच कमिसनरले रेफ्री फेर्न पनि मानेनन् । खेल एक घण्टा १५ मिनेट जति रोकियो । दुवै टिम मैदानमा रहिरहे ।
आयोजक साफले अन्तिम एक मिनेट समय दिँदै यदि नेपालले नखेल्ने हो भने सेमिफाइनलबाट बाहिरिने र टिमलाई अनुशासन उल्लङ्घन गरेको सजाय दिएर आगामी प्रतियोगितासमेत खेल्नबाट वञ्चित गरिने चेतावनी दिएपछि खेलाडीले नेपाली फुटबलको भविष्य हेरेर खेल्ने निर्णय गरे । यसरी नेपाली महिला फुटबल टिम ठूलो विपत्बाट बच्यो । यसमा खेलाडी र दर्शक वा भारतीय टिमको नभई केवल रेफ्रीको गल्ती थियो । धैर्यपूर्वक ठोस निर्णय लिँदै खेलाडीले फुटबललाई जिताए । संयमित र आक्रामक खेल्ने क्रममा खेल पुनः सुरु भएको दोस्रो मिनेटमै सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरीमा ल्याइन् । निर्धारित समय १–१ को बराबरी भएपछि सिधै पेनाल्टी सुटआउटमा निर्णय भयो । पेनाल्टीमा नेपालले ४–२ ले बाजी मा¥यो ।
भारतीय टिमसँग नेपाल पराजित हुँदै आएको छ । लगातार साफमा दोस्रो पटक भारतलाई नै हराएर नेपाल फाइनलमा पुग्यो । यो नेपाली टिमका लागि ठूलो सफलता हो ।
तोडियो नेपालको कीर्तिमान
टी–२० क्रिकेटमा नेपालको विश्व कीर्तिमान तोडिएको छ । नेपालले गत वर्ष (सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा) चीनको ह्यान्जाओमा एसियाली खेलकुदका क्रममा मङ्गोलियाविरुद्ध बनाएको सर्वाधिक रनको योगफल र सर्वाधिक अन्तरको योगफल तोडियो । उक्त कीतिमान जिम्बाब्वेले नैरोबीमा सन् २०२४ को अक्टोबर ३ तारिखमा भएको टी–२० विश्वकप छनोटको खेलमा गाम्बियाविरुद्ध तोडेको हो ।
जिम्बाब्वेले गाम्बियाविरुद्ध चार विकेटको क्षतिमा ३४४ रन बनायो । सिकन्दर रजाले ३३ बलमा शतक पूरा गरेको खेलमा ४३ बलमा अविजित रहँदै १३३ रन बनाए । जवाफमा गाम्बियाले १४.४ ओभरमा अलआउट हुँदै ५४ रन मात्र बनायो । जिम्बाब्वेले २९० रनको फराकिलो जित हासिल ग¥यो । जित अन्तर पनि यो अहिलेसम्मकै बढी हो ।
यसअघि नेपालले मङ्गोलियाविरुद्ध तीन विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । त्यस खेलमा कुशल मल्लले ५० बलमा अविजित रहँदै १३७ रन बनाएका थिए । दुवैबीच तेस्रो विकेटका लागि कीर्तिमानी १९३ रनको साझेदारी भएको थियो । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक बनाउने क्रममा १० बलमा आठ छक्काको मद्दतले अविजित रहँदै ५२ रन बनाएका थिए । जवाफमा मङ्गोलियाले १३.१ ओभरमै अलआउट भएर ४१ रन मात्र बनाएपछि २७३ रनको अन्तरले नेपाल विजयी भएको थियो ।
जित अन्तरमा पनि नेपाललाई जिम्बाब्वेले उछिन्यो । गाम्बियालाई जिम्बाब्वेले २९० रनले हराएर नेपालको कीर्तिमान पनि भङ्ग ग¥यो ।
एकै इनिङ्समा नेपालले बनाएको छक्काको कीर्तिमान पनि तोडिएको छ । गाम्बियाविरुद्ध जिम्बाब्वेले २७ छक्का प्रहार ग¥यो । जबकि नेपालले मङ्गोलियाविरुद्ध २६ छक्का प्रहार गरेको थियो ।
न्युजिल्यान्ड बन्यो च्याम्पियन
आइसिसी महिला टी–२० विश्वकप क्रिकेटले नयाँ च्याम्पियन पाएको छ । पहिलो पटक विश्वकपमा छनोट नभएको देश युएईले आयोजना गरेको प्रतियोगिताको उपाधि न्युजिल्यान्डले जित्यो । दुबईमा भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गरेको थियो ।
दक्षिण अफ्रिकाले महिलादेखि पुरुष वा एक दिवसीयदेखि टी–२० सम्म कुनै पनि विश्वकपको उपाधि जित्न सकेको छैन । १० टिमले खेलेको विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिज सेमिफाइनलबाट बाहिरिएका थिए ।
इन्टर मियामी क्लब विश्वकपमा
विश्वका सर्वाधिक सफल वर्तमान फुटबल खेलाडीमा अर्जेन्टिनी स्टार लियोनल मेसीको नाम अगाडि आउँछ । उनले नजितेका चर्चित उपाधि कमै छन् ।
उनी इन्टर मियामीलाई पनि फिफा क्लब विश्वकपमा पु¥याउन सफल भएका छन् । यो इन्टरका लागि सबैभन्दा ठूलो उपलब्धि हो । क्लब विश्वकप अमेरिकामै खेलिँदै छ ।