• १३ मंसिर २०८१, बिहिबार

ई–रिक्सा दुर्घटना न्यूनीकरणका लागि सचेतना

blog

सचेतनामुलक अभियानको सुरुवात गर्दै अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघका पदाधिकारीहरु । तस्विरः कमल खत्री

कमल खत्री

धम्बोझी, मंसिर १२ गते । नेपालगन्जमा दुर्घटना न्युनीकरणका लागि ई–रिक्सा चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने उद्देश्यसहित सचेतनामुलक अभियान सुरु भएको छ ।

अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेले बुधबारदेखि अभियानको सुरुवात गरेको हो । पहिलो चरणमा नेपालगन्जको मुख्य चोकहरुमा तीन दिनसम्म सचेतना जगाउने कार्यक्रम तय भएको अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका अध्यक्ष धिरजप्रताप सिंहले बताउनुभयो ।

बुधबार नेपालगन्जको गणेशमान चोकबाट अभियान सुरु भएको छ । पहिलो दिन करिब १ सय ५० भन्दा बढी ई–रिक्सा चालक तथा सवारीधनीहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराएको अध्यक्ष सिंहले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालगन्जमा पछिल्लो समय ई–रिक्सा दुर्घटनाको संख्या बढिरहेको छ । ई–रिक्सा चालकहरुले ट्राफिक नियमको बारेमा थाहा नपाउँदा, लापरबाही गर्दा क्षति भइरहेको छ । त्यसलाई न्युनीकरण गर्न हामीले पहिलो चरणमा ट्राफिक नियमको बारेमा जानकारी गराउन सचेतनामुलक कार्यक्रम सुरु गरेका हौं । यसपछि अन्य थुप्रै कार्यक्रम गर्ने संघको योजना छ ।’

बिहीबार नेपालगन्जको पुष्पलाल चोकमा ई–रिक्सा चालकलाई ट्राफिक नियम बारेमा बुझाउनका लागि निःशुल्क रुपमा सचेतनामुलक कार्यक्रम गर्ने तय भएको अध्यक्ष सिंहले बताउनुभयो । 

अभियान अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका पदाधिकारी, सदस्य, कर्मचारी, जिल्ला प्रहरी कार्यालय बाँकेका वरिष्ठ सई सन्तोष शाह, नगरप्रहरी, ट्राफिक प्रहरीहरुले पनि सहयोग गर्नुभएको थियो । 

ई–रिक्सा चालकको हितका लागि अभियान महत्वपूर्ण रहेको अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका महासचिव कुमारसिंह ठकुरीले बताउनुभयो । दुर्घटना दैनिक रुपमा बढिरहेको अवस्थामा अभियानले चालकलाई सचेत बनाउने उहाँले बताउनुभयो । 

महासचिव ठकुरीले भन्नुभयो, ‘नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा दर्ता, नविकरण, अस्थायी सवारीचालक अनुमतिपत्र दिने गर्छ । तर यसबारेमा धेरै चालक र सवारीधनीले वास्ता गर्नु भएको छैन । यसले सवारी धनी र ई–रिक्सा चालक दुबैलाई धेरै समस्या पार्ने गरेको छ ।’

ई–रिक्साहरुको हकहितको लागि संघले निःशुल्क रुपमा सेवा मुलुक कार्यक्रम गर्दै जाने महासचिव ठकुरीले बताउनुभयो । ई–रिक्सा चालकहरुलाई कानुनी रुपमा बलियो बनाएर सम्भावित दुर्घटनाबाट हुन सक्ने क्षतिलाई रोक्नको लागि संघले काम गरिरहेको महासचिव ठकुरीले बताउनुभयो । 

संघका उप–महासचिव एजाज बाबु जोलाहले ई–रिक्सा चालकले सवारी चलाउँदा ट्राफिक नियमको पालना गरेमा दुर्घटना हुने सम्भावना निकै कम हुने बताउनुभयो । चालकको लापरबाहीका कारणले दुर्घटना हुने गरेको उहाँले भनाइ राख्नुभयो ।  

अभियानको क्रममा चालकहरुलाई मादक पदार्थ तथा नसाजन्य औषधी सेवन नचलाउने, ई–रिक्साको दायाँपट्टी फलामे डन्डी जोड्ने, लाइनमा ई–रिक्सा चलाउने, ई–रिक्सा रोक्दा सडकको बायाँ भागको पहेलो लाईन भन्दा बाहिर गएर रोक्ने, ई–रिक्सा दायाँ बायाँ मोड्दा साइड लाईट र संकेत गरेर जाने, ई–रिक्सा चालक परिचयपत्र बनाउने, सवारी साधान दर्ता, नविकरण गर्ने, जथाभावी पार्किङ नगर्ने, यात्रुहरुसँग सभ्य व्यवहार गर्ने लगायतका बारेमा सचेतना जगाउने गरिएको महासचिव ठकुरीले बताउनुभयो ।