• २४ पुस २०८१, बुधबार

लेबनानमा युद्धविराम गाजा युद्ध अन्त्य गर्ने महत्त्वपूर्ण कदम-जोर्डन

blog

अम्मान, मङ्सिर १२ गते । जोर्डनले लेबनानमा इजरायल र हिजबुल्लाहबिच बुधबार लागू भएको युद्धविरामलाई स्वागत गर्दै गाजामा इजरायल र हमासबिचको युद्ध अन्त्य गर्ने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताएको छ ।

विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, “युद्धविराम एक महत्त्वपूर्ण कदम हो, यसपछि गाजा पट्टीमा आक्रमण र पश्चिमी किनारामा इजरायली आक्रमणहरू अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रयास गर्नुपर्छ ।” मन्त्रालयका प्रवक्ता सुफियान कुदाहले ‘राज्यको आफ्ना भाइचारा लेबनान, यसको सुरक्षा, स्थिरता, सम्प्रभुता र नागरिकहरूको संरक्षणको समर्थन’ पुनः पुष्टि गर्नुभयो ।

विज्ञप्तिमा ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयनको आवश्यकता’ मा पनि जोड दिइएको छ । यो बुधबार लागू भएको युद्धविरामको आधार थियो । यस प्रस्तावले सन् २००६ मा इजरायल र हिजबुल्लाहबिचको अन्तिम युद्धको अन्त्य गर्‍यो । यसमा लेबनान राज्यको सशस्त्र सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेनालाई मात्र लेबनानको दक्षिणमा उपस्थित हुन आवश्यक थियो ।

जोर्डनले ‘लेबनानको राष्ट्रिय संस्थाहरूलाई बलियो बनाउन, पुनर्निर्माण गर्न र देशलाई आवश्यक आर्थिक सहायता प्रदान गर्न’ पनि समर्थन व्यक्त गरेको छ । युद्धविरामले इजरायल र हिजबुल्लाहबिच झन्डै एक वर्षसम्म सीमापार गोलीबारी र दुई महिनासम्म पूर्ण युद्धलाई अन्त्य गरेको छ ।

जनसङ्ख्याको करिब आधा प्यालेस्टिनी मूलका रहेको जोर्डन सन् १९९४ मा इजरायलसँग शान्ति सम्झौता गर्ने दोस्रो अरब राज्य बन्यो । यसले औपचारिकरुपमा छिमेकीहरूबिचको युद्धको अवस्थाको अन्त्य गर्‍यो । रासस/एएफपी