• २३ पुस २०८१, मङ्गलबार

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, मङ्सिर १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताउनुभएको छ ।

छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरू जारी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले काठमाडू मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबिचको खाडल मेटिनुपर्ने,  आत्म सम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहितको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।


उहाँले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गर्नुभयो  ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्त्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्यावश्यक भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षाहरूलाई देखिने खालका उपलब्धिमा रूपान्तरित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशजङ्ग बराल, एसियाली जनसङ्ख्या एसोसिएसनका अध्यक्ष रेइको हायाशीलगायत सम्मेलनमा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछ ।