• २४ पुस २०८१, बुधबार

पहुँचको आधारमा कर्मचारीको सरुवा हुँदैन : मन्त्री तिमिल्सिना

blog

लुम्विनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना कार्यक्रममा । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, मङ्सिर १२ गते । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पहुँचका आधारमा हुने गरेको कर्मचारीको सरुवा रोक्न मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने बताउनुभएको छ  । 

नेपाल निजामती कर्मचारी युनियन बाँकेको आयोजनामा बुधबार नेपालगञ्जमा आयोजित बधाई, स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री तिमिल्सिनाले कर्मचारीलाई इमानदारीपूर्वक काममा केन्द्रित हुन निर्देशन दिनुभयो । 

मन्त्री तिमिल्सिनाले भन्नुभयो, ‘कर्मचारीको पूर्ण सहयोगबिना सरकारले अपेक्षाकृत काम गर्न नसक्ने भएकाले सरकारलाई कर्मचारीबाट इमानदारीपूर्वक सहयोग हुन आवश्यक छ ।’ जनताको माग र आवश्यकताको आधारमा प्रमुख दुई राजनीतिक दलहरु नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच सहकार्य भएको बताउँदै मन्त्री तिमिल्सिनाले काङ्ग्रेस र एमाले नमिल्दा मुलुकमा अस्थिरता कायमै रहने अवस्था देखिएपछि ठुला दुई दल मिलेको दावी गर्नुभयो  ।

मुलुक अब कसैको छलकपट र झुटमा नचल्ने भन्दै उहाँले नागरिकलाई सहज सेवा दिनु जनप्रतिनिधि र कर्मचारी दुबैको भूमिका हुने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, सुशीला वादी नेपाल, नेपाली काङ्ग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल अधिकारी, उपसभापति कृष्ण कार्की लगायतले बाँके र बर्दियाको विकास निर्माणमा सहजीकरण गर्न मन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभयो । 

नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्धव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सङ्घ, प्रदेश र स्थानीय तह अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता थियो ।