अर्जुन काफ्ले
स्याङ्जा, मङसिर १२ गते । गुुरुङ समुदायको बसोवास, नजिकै गोर्खा सैनिकको स्मारक स्थल साल्मेडाँडा, मट्टीखान भ्यूटावर, छेउबाटै देखिने हिमशृङ्खला र प्रदेश राजधानी पोखराको दृश्यले पर्यटकलाई आकर्षित गरेकै छ ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको फेदिखोला गाउँपालिका –१ अयरपानी सामुदायिक घर बास (होमस्टे) पर्यटकको अर्को रोजाइ बनेको छ ।
पर्यटक पुग्ने बित्तिकै गुरुङ संस्कृतिको सेता टीका, गाउँमै उत्पादन गरेको फूलको माला र फूल तथा खादा लगाएर सम्मान गर्ने परम्परा यहाँ छ । पछिल्लो समय यहाँ प्राकृतिक हावापानी तथा मौलिक खाना खान पाइने भएपछि पर्यटकको रोजाइ बनेको हो ।
यो अयरपानी सामुदायिक होमस्टे २०७५ सालबाट सुुरुवात गरी निरन्तर सञ्चालनमा छ । गुुरुङ समुदायको बाक्लो बस्ती रहेको यहाँ गुुरुङ संस्कार संस्कृतिका साथै होमस्टे प्रवर्धन गर्न मौलिक खाना खुुवाउनु नै होमस्टेको विशेषता रहेको अयरपानी सामुदायिक होमस्टेका सचिव राजकुुमार गुुरुङले बताउनुभयो ।
सिद्धार्थ राजमार्गको कुभिन्डेदेखि पाँच किलोमिटर दूरीमा रहेको होमस्टेमा १३ वटा भवनमा पाहुना बस्न मिल्ने गुुरुङले बताउनुभयो । यहाँ सबै घरमा होमस्टे नभए पनि बस्ने व्यवस्था गरेका घरमा एकसय जना पाहुनालाई राख्न मिल्नेछ ।
होमस्टेमा पर्यटकलाई एक रात बसेको र खाएको एक हजार दुईसय रुपियाँ लाग्ने गर्दछ भने कोदोको रक्सी, लोकल कुखुरा, लोकल खसीको मासु, सेलरोटी, अर्गानिक मह गाउँकै चामलको भात तथा कोदोको ढिँडो यहाँ पाइने गर्दछ । पोखरानजिक र आफैँमा रमणीय र रमणीय ठाउँ देखिने भएकाले पनि यहाँ देशको सबै ठाउँ र विदेशबाट दैनिक पाहुना आउने गरेका छन् ।
देशमै होमस्टेको शुरुवात विसं १९९८ मा सिरुबारीबाट भए पनि अयरपानी व्यवस्थित तथा अर्गानिकका कारण सबैको रोजाइमा परेको हो । कहिले हप्तामा सबै दिन पाहुना भरिभराउ हुने गरेका छन् भने कहिले एक दुई दिन बिराएर आउने गरेको बिन्दु गुुरुङको भनाइ छ ।
दैनिकजसो पाहुनाहरु आइरहने भएकाले खाली बस्न नपर्ने बताउँदै गुरुङ्ले बेमौसममा बाहेक यो होमस्टेमा आउने पाहुनाले लोकल उत्पादन खान पाउने र रमाउन पाउने बताउनुभयो । यहाँ रातमा आउने हुन या दिनका लागि मात्र आउने पर्यटक हुन सबैलाई एकचोटी स्थानीय गीत सङ्गीतमा नचाएर बिदा दिने परम्परा छ ।
अयरपानी सामुदायिक होमस्टेका गुुरुङहरुले जस्तै अन्य ठाउँका समुदायले पनि पर्यटक रमाउने घुम्नलायक ठाउँ बनाउन सक्ने हो भने अन्य ठाउँका होमस्टेको महत्व बढ्ने देखिन्छ । फेदिखोला गाउँपालिकामा मात्र तीनवटा होमस्टे सञ्चालनमा छन् । स्याङ्जामा हुगिकोट, लामडाँडा, सिरुबारी लगायतका १४ वटा हामस्टे छन् ।