• २४ पुस २०८१, बुधबार

नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित २१ औँ राष्ट्रिय ज्यापू दिवस २०८१ को परम्परागत निमन्त्रणा कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौं, मङ्सिर १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनुभएको छ । बुधबार २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकाले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतिलाई मूल रुपमा प्रतिविम्बित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपच्छिे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । दुनियाँमा यस्तो पृथक् प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेषता छन् ।’’


उहाँले नेपालमा समुदायपिच्छे नै पृथक् प्रकारको संस्कृति रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनै पनि देशमा नरहेको उल्लेख गर्नुभयो । उहाँले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताउनुभयो । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणका लागि सबै एकजुट भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरुको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरुको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरुमध्ये काठमाडौं उपत्यकाबाट सुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो ।’’ ज्यापू दिवस (योमरि पुन्ही) मङ्सिर ३० गते मनाइँदैछ ।

यो पनि पढ्नुहोस