• २४ पुस २०८१, बुधबार

अभियानमार्फत् शवदाहगृह निर्माण गर्दै युवा

blog

इमान सिं राना

रामपुर (पाल्पा), मङ्सिर १२ गते । जिल्लाको रम्भा गाउँपालिका–१ मा युवाहरु शवदाहगृह निर्माणका लागि जुटेका छन् । वर्षाको समयमा दाहसंस्कार गर्न समस्या भएपछि कालीगण्डकी नदी किनारमा शवदाहगृह निर्माण गर्न जुटेका हुन् । 

युवाहरुले फडियारघाट निर्माण अभियान सञ्चालन गरेर रम्भा–१ च्याङ्लिङ्ग स्थित फडियार घाटमा शवदाह निर्माण थालेका हुन् । नदी किनारमा शव जलाउँदा जलाउँदै वर्षा भएमा राम्ररी दाहसंस्कार गर्न नपाउने र निरन्तर वर्षा भैरहेको समयमा दाहसंकारको लागि अर्को दिन कुर्नु पर्ने अवस्था आएपछि फडियारघाट निर्माणको अभियान थालिएको अभियानका संयोजक यम बहादुर सिंजालीले बताउनुभयो। 

उहाँले भन्नुभयो, "वर्षा भैरहेको समयमा अस्थायी टहरा निर्माण गरेर वा वर्षा रोकिएपछि मात्र शव दाहसंस्कार गर्नु पर्ने अवस्था थियो । वर्षादको समयमा दाहसंस्कार गर्र्न समस्या भएपछि युवाहरुको सक्रियतामा अभियान सञ्चालन गरी संकलन भएको रकम मार्फत शवदाहगृह निर्माण गरिरहेका छौं ।" गत असोज देखि अभियान सुरु गरेका युवाहरुले रकम संकलन संगै शवदाहगृह निर्माणको काम अघि बढाएको छ । 

अभियानका लागि देश तथा विदेशमा रहनु भएका नेपाली र स्थानीय बाट रकम संकलन भैरहेको सिंजालीले बताउनुभयो । हाल सम्म तीन लाख बढी रकम सङ्कलन भएको छ । 

छाना सहितको शवदाहगृहसँगै कालीगण्डकी करिडोरदेखि नदीसम्म जाने २३ मिटरको सिँडी निर्माणको कार्य भैरहेको युवा दिनेश भट्टराईले बताउनुभयो । फडियारघाटमा सोलार बत्ती जडान, पानीको धारा निर्माण, दाउरा राख्ने ओत निर्माण, ओट लाग्ने प्रतिक्षलय र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

शवदाहगृह सहित अन्य संरचना निर्माणको लागि १५ देखि २० लाख सम्म खर्च लाग्ने अनुमान गरिएको छ । फडियार घाटमा रम्भा गाउँपालिका १, रामपुर नगरपालिका १० र पूर्वखोला गाउँपालिका ६ का स्थानीयले शव दाहसंस्कार गर्दै आएका छन् ।