• २४ पुस २०८१, बुधबार

राप्तीनदीको सिधनियाघाटमा नयाँ पुल निर्माण तिव्र

blog

सिधनियाघाटमा पुल निर्माणको कार्य तिव्र गतिले हुँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १२ गते । बाँकेको हुलाकी सडक अन्तर्गत नेपालगन्ज-बघौडा-अगैया सडक खण्डको राप्तीनदीस्थित सिधनियाघाटमा नयाँ पुल निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । 

सिधनियाघाटमा हाल रहेको पुल पुरानो, साँघुरो र सानो भएपछि त्यहाँ सात सय मिटर लामो नयाँ पुल निर्माण कार्य भइरहेको हो । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले सो पुलको निर्माण कार्यलाई तीव्रता दिएको छ । निर्माण थालेको करिव एक वर्षमा ३० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी सडक आयोजनाका फिल्ड इन्चार्ज इन्जिनियर राजेश पटेलले बताउनुभयो । 

हाल सञ्चालनमा रहेको पुलमा एउटा गाडी मात्र ओहोरदोहोर गर्न सक्ने भएकोले नयाँ पुलका लागि बजेट विनियोजन गरिएपछि पुल निर्माणको काम तिव्र रुपमा अगाडी बढेको हो । निर्धारित समयभन्दा ६ महिनाअघि सक्ने गरि निर्माणको काम तिव्र रुपमा भइरहेको इन्जिनियर पटेलले बताउनुभयो ।

२०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९ माघमा पुलको सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ । अहिले निर्माण भइरहेको पुल सात सय मिटर लम्बाइ र ११ मिटर चौडा छ । पुलको दुवैतर्फ १.७५ मिटर फुटपाथ निर्माण समेत गरिनेछ । भ्याटसहित एक अर्ब १९ करोडमा पुल निर्माण भइरहेको आयोजनाले जनाएको छ । नदिको पानी नभएको ठाउँमा पिलर तयार भई ढलानको तयारी भइरहेको छ । सरकारले आवश्यक बजेट दिए समय अगावै काम सम्पन्न गर्ने योजना रहेको इन्जिनियर पटेलले बताउनुभयो।

सो पुल निर्माण भएपछि राप्तीपारीका सवारी साधनलाई नेपालगन्ज आवागमन गर्न निकै सहज हुने र वर्षामा यातायात नरोकिने नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो। उहाँले सो पुल बनिसकेपछि वर्षाको समयमा पनि आवागमन बन्द नहुने जनाउँदै पुल निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 

नरैनापुर निवासी नसिम खाँले पुल निर्माण हुन थालेपछि खुसी लागेको बताउनुभयो । उहाँले बाढीले सडक र कल्भर्ट बगाउँदा हिउँदमा समेत आउजाउ गर्न असहज हुने गरेको बताउनु भयो । 

यस्तै, राप्तीसोनारी गाउँपालिका–७ का दुर्गाप्रशाद पाण्डेले नयाँ फराकिलो र लामो पुल बन्न थालेपछि यस क्षेत्रका स्थानीयमा आउजाउ गर्न सहज हुने आशा पलाएको बताउनुभयो। 

सात सय मिटर लामो सो पुल निर्माणको लागि तत्कालिन भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री मोहम्मद इस्तियाक राईले २०७९ भदौ ४ गते शिलान्यास गर्नुभएको थियो । सिधनियाघाटमा हाल रहेको पुल साँघुरो र छोटो भएकाले नयाँ पुल निर्माण गर्न तत्कालिन मन्त्री राईले बजेट विनियोजन गराउनु भएको उहाँले बताउनुभयो।