• २४ पुस २०८१, बुधबार

कोशीटप्पुमा पटेरको कोसेली

blog

कोशीटप्पु वन्यजन्तु आरक्षको पटेर प्रशाेधन केन्द्रले पटेरबाट बनाएका विक्रीका सामग्रीहरु कोसेली घरमा राखिएको अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव  

इनरुवा, मङ्सिर १२ गते । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षमा आउने पर्यटकका लागि स्थानीय पटेर प्रशोधन केन्द्रले पटेरबाट बनाएका विभिन्न सामग्री उत्पादन गरी कोसेलीको रुपमा विक्री गर्न थालेको छ । 

स्वदेशी आन्तरिक तथा विदेशी बाह्य पर्यटकहरु लोपोन्मुख दुर्लभ अर्ना, जङ्गली जनावर, गोही, हात्ती, चरा लगायतका हेर्न, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न आउने भएकाले उनीहरुलाई लक्षित गरेर पटेरका विभिन्न सामग्री उत्पादन गरी कोसेलीको रुपमा विक्री गर्न थालेको हो । 

स्थानीय सरदार समुदायले सामूहिक रुपमा पटेर र जलकुम्भीबाट बनाएको सामग्रीहरु कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय परिसरमा रहेको सिमसारजन्य वनस्पति तथा बाह्य मिचाहा प्रजातिहरुबाट उत्पादित हस्तकलाका सामग्रीहरु उत्पादन गरि यहाँ राखेर आउने पर्यटकलाई विक्री गर्ने गरेको स्थानीय रुदनी सरदारले जानकारी दिनुभयो । आरक्षको मध्यवर्ती क्षेत्रका ३० भन्दा बढी महिलाको सक्रियतामा बनाएको पटेर प्रशोधन केन्द्रले पटेरबाट बनाएका विभिन्न सामग्री तथा सिमसारजन्य वनस्पति तथा बाह्य मिचाहा प्रजातिहरुबाट उत्पादित हस्तकलाका सामग्रीहरु उत्पादन गरी पर्यटकलाई कोसेलीको रुपमा विक्री गर्ने  गरेको सरदारको भनाइ छ ।

यहाँ एक जनाले पूर्ण रोजगार पाएको अवस्था छ भने अन्य ३० जनाले भने काम गर्ने र सिमसारजन्य वनस्पति तथा बाह्य मिचाहा प्रजातिहरुबाट हस्तकलाका सामग्रीहरु बनाउने विक्री गर्ने र आय आर्जन गर्ने अवसर पाएको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । सिमसार र मध्यवर्ती क्षेत्रको सरसफाइ पनि हुने तथा सिमसारजन्य वनस्पति तथा बाह्य मिचाहा प्रजातिहरुलाई प्रशाेधन गरेर त्यसबाट उत्पादित हस्तकलाका सामग्री विक्री गरेर आयआर्जन गर्न पाउने भएकाले पटेर प्रशाेधन केन्द्र फस्टाउँदै गएको जानकारी दिनुभयो । पटेरबाट पर्स, कलश, गुन्द्री, कमल राख्ने, बस्ने म्याट, विभिन्न आधारका टोपी उत्पादन गरेर विक्री गर्दै आएको स्थानीय रामनारायण सरदारले जानकारी दिनुभयो । 

केही थान टि सर्ट समेत अर्ना, हाती र चरा अङ्कित गरेर पर्यटक प्रवर्धन गर्न कोसेलीका रुपमा विक्री गर्दै आएको पटेर प्रशाेधन केन्द्रले जनाएको छ ।  केन्द्रमा दुई सय रुपियाँदेखि दुई हजार ५०० रुपियाँसम्मको कोसेलीका सामग्रीहरु विक्रीका लागि राखिएको छ ।