• २४ पुस २०८१, बुधबार

जिउने आधार बन्दै सीप र सिलाइ मेसिन

blog

सिलाइ मेसिन हस्तान्तरण गरिदै । तस्विरः हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर १२ गते । राम्रो लगाउँ, मीठो खाउँ र परिवारसँगै सुख दुःख साटेर बसौं भन्ने समयमा श्रीमान्को मृत्यु भएपछि मोरङ कानेपोखरी –६ का २६ वर्षीया सपना विश्वकर्माको सबै सपना पानीको फोकाझैं फुटे । 

कलिलै उमेरमा बिबाह बन्धनमा बाँधिनुभएकी सपनाका दुई सन्तान छन् । सात वर्षको छोरा र दुई वर्षकी छोरीको लालनपालन गर्ने जिम्मा आफ्नै काँधमा आएपछि सपना जीवन जिउने आधारको खोजिमा हुनुहुन्थ्यो । 

न आफ्नो खेतवारी, न जागिर । हातमा सीप नभएपछि काम कसले दिने ? त्यहीँमाथि दुधे छोरी लिएर काममा निस्कनुको पीडासँग सपना संर्घष गरिरहनु भएको छ । जीन्दगीभर सँगै जिउने बाचा गरेका पति २५ वर्षको उमेरमा गुमाउनुको पीडा त छँदैछ । लालावालालाई हुर्काउने थप जिम्मेवारी सम्झदा सपना धेरै पटक थाक्नुभयो, बहकिनुभयो । तर, जीवनको लय गुमाउनु भएन । 

अहिले कानेपोखरी गाउँपालिकाले सपनाको सपना पूरा गरिदिएको छ । सीपसँगै सिलाई मेसिन दिएपछि उहाँमा जीवन जिउने उर्जा प्राप्त भएको छ । लुगा सिलाएर जिविकोपार्जन गर्न सकिने सम्भावना देख्नु भएकी सपनाले भन्नुभयो– “जीवन जिउने भरोसा यही सिलाइ मेसिनलाई बनाएकी छु ।” 

सपना मात्र होइन, कानेपोखरी –३ की ५३ वर्षीया मैया दर्जीका श्रीमान् हराउनु भएको १९ वर्ष भयो । घरको आम्दानीले खान लाउन नपुगेपछि कमाउन भारतको पञ्जाव जानु भएका श्रीमान् घर नफर्किएपछि मैयाको दुर्दिन सुरु भयो । न आफ्नो जग्गा, न खेतबारी । जेठो छोरो कमाउन काठमाडौं लागे । छोरीले आफै बिहे गरिन ।

अपाङ्गता भएको छोरो हेरेर बाँचिरहनु भएकी मैयाँको सहारा तीनै छोरा पनि बितेपछि उहाँ एक्लो हुनुहुन्छ । मैयाँले पनि लुगा सिलाउने सीप सिक्नुभयो । पालिकाले पयरसहितको सिलाइ मेसिन दिएपछि मैयाँ अहिले आफूलाई आफ्नो खुट्टामा उभ्याउन सक्ने हुनुभएको छ । 

कानेपोखरी –१ कि ४७ वर्षीया उर्मिला मग्राती (सार्की) का श्रीमान ८ वर्षअघि बित्नुभयो । अर्काको जग्गामा घामपानी छल्ने घरमा दुई छोरीसहित टाउको लुकाएर बस्दै आउनु भएकी उर्मिला पनि यतिबेला लुगा सिलाउन जान्ने हुनुभएको छ । दुई पटक तालिम लिइसक्नु भएकी उर्मिलाले बिगतको निरासा हट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “छोरीहरू पढाएर दुई छाक खानलाई पुग्नेगरी खर्च जुट्न थालेको छ ।”

कलिलै उमेरमा एकल जीवन बिताइरहनु हुने सपना, मैया र उर्मिला प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरूसहित १५ जना दलित विपन्न महिलालाई कानेपोखरी गाउँपालिकाले सोमबार सिलाइ मेसिन हस्तान्तरण गरेको छ । सुरुमा सीप अनि सिलाइ मेसिन प्रदान गरेको पालिकाले चालु बजेटमा दुई लाख रुपियाँ बिनियोजन गरेको थियो । 

सोमबार ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहका अवसरमा गाउँपालिकाले १५ जना महिलालाई सिलाइ मेसिन प्रदान गरेको हो । पालिका अध्यक्ष राजमति इङ्नामले विपन्न, दलित एकल महिलालाई सीपसँगै स्वरोजगार बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यो कार्यक्रमले महिलालाई स्वरोजगार बनाउँदै लगेको अध्यक्ष इङ्नामले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले समेत महिला स्वरोजगार बनेर समाजमा उभिन उर्जा प्रदान गर्नुभयो ।