• २५ पुस २०८१, बिहिबार

‘बम बहादुर’ को टिजर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ११ गते । अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै यस चलचित्रको प्रदर्शन मिति पुस ५ लाई तोकिएको छ । चलचित्र नेपाल र भारतमा एकै दिन प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । 

टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ । ‘बम बहादुर’ एउटा सन्देशमूलक कथा र ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने नेपाली चलचित्र हो, जसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षलाई उजागर गर्छ । चलचित्र १९८० को दशकमा भएका घटनामाथि आधारित रहेको चलचित्रका निर्देशक जोन राईले जानकारी दिनुभयो । 

मनोरञ्जनात्मक मात्र नभई सन्देशमूलक कथा पनि रहेको चलचित्रले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्सको अनुभव गराउने राईको दाबी छ । उहाँका अनुसार चलचित्रले बम बहादुर नामको पात्रको जीवनमा चार दशकपहिले भएका घटनाहरूले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको छ भन्ने कथा प्रस्तुत गर्ने छ । निर्माता सञ्जीव सार्कीले सन्ततिले आफ्नो इतिहास बिर्सिन नपरोस् भन्ने उद्देश्यले यो चलचित्र बनाएको बताउनुभयो । बिस्ट ब्रदर्स फिल्म्स प्रालिको निर्माणमा बनेको चलचित्रको प्रमुख भूमिकामा मल्लका साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, बालकलाकार वशिस्ट कार्की, सुरेश पञ्चकोटीलगायतको अभिनय छ ।  जोन राई र रूपेश तामाङको कथा र पटकथा रहेको चलचित्रको छायाङ्कन सुजोयकुमार घोष ‘मुन्ना’ ले गर्नुभएको छ भने सम्पादन ज्ञान गुरुङको रहेको छ । सङ्गीत तथा गीत दीपङ्करसिंह मुखियाले तयार पार्नुभएको हो ।